आफ्नो प्रशासनले पहिलो वर्षमा ‘दीर्घकालीन महत्त्वपूर्ण परिवर्तन’ गरेको ट्रम्पको दाबी

बीबीसी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले पहिलो वर्षमा ‘दीर्घकालीन महत्त्वपूर्ण परिवर्तन’ ल्याइदिएको बताएका छन् । अमेरिकी संसद कङ्ग्रेसमा राष्ट्रपति ट्रम्पले गरेको वार्षिक ‘स्टेट अफ द यूनिअन’ सम्बोधनमा त्यसो भनेका हुन् । अमेरिका पहिलेभन्दा ठूलो, राम्रो, धनी र बलियो भएको उनको दाबी थियो ।

ट्रम्पले त्यसो भन्दा उनका समर्थकहरूले ताली बजाएर र नारा लगाएर स्वागत गरेका थिए । तर ट्रम्पको वार्षिक सम्बोधन सुरु हुँदा केही डेमोक्रेट सांसदहरू हलबाट बाहिरिएका थिए । उनले कङ्ग्रेसमा एक घण्टा ५० मिनेट सम्बोधन गरे । यो नै अहिलेसम्मको सर्वाधिक लामो ‘स्टेट अफ द यूनिअन’ भाषण हो ।

ट्रम्प आप्रवासन र आफ्नो विदेशनीतिबारे पनि बोलेका थिए । गत महिना भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेर अमेरिका ल्याइएको प्रसङ्ग निकाल्दै उनले ‘बलमार्फत् शान्ति’ आफ्नो नीति भएको जनाए। उनले इरानलाई परमाणुअस्त्र नबनाउन चेतावनी दिँदै आफूले कूटनीतिमार्फत् समस्या समाधान गर्न चाहेको बताए ।

उनको सम्बोधनका क्रममा दर्शकदीर्घामा सैन्य अधिकारीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरू पनि थिए । आफूले घोषणा गरेको ट्यारिफलाई ‘महत्त्वपूर्ण आर्थिक परिवर्तन’ दिने आधारका रूपमा प्रस्तुत गरेका ट्रम्पले सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरे । उनले आफ्ना धेरै ट्यारिफहरूविरुद्ध सर्वोच्च अदालतको हालैको आदेशलाई ‘निराशाजनक’ र ‘दुर्भाग्यपूर्ण’ भनेका छन् ।

सर्वोच्च अदालतका नौ जनामध्ये कङ्ग्रेसमा उपस्थित चार न्यायाधीशहरूतर्फ हेर्दै उनले उक्त असन्तुष्टि जनाएका हुन्। तर उनले न्यायाधीशहरूको सोझै आलोचना भने गरेनन् । अदालतको आदेशपछि पनि ट्यारिफहरू ‘पूर्ण रूपमा अनुमोदित र परीक्षित वैकल्पिक कानुनी स्थितिमा रहने’ ट्रम्पको घोषणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *