नेपाली कांग्रेसः संक्रमणकालीन नेतृत्वमा प्रजातान्त्रिक आशाको परीक्षण

-जेपी गुप्ता ।

आसन्न निर्वाचनले नेपालका दलहरूबीचको प्रतिस्पर्धाभन्दा पनि प्रत्येक दलको आन्तरिक मनोविज्ञान, नेतृत्वको रणनीति र व्यवस्थाप्रतिको वास्तविक प्रतिबद्धतालाई एकैपटक उजागर गरिरहेको छ। यस परिदृश्यमा नेपाली कांग्रेसभित्र देखिएको असामान्य मौनता—विशेषतः निवर्तमान सभापति शेरबहादुर देउवा र उनका निकटस्थहरूको—साधारण मौनता होइन, एक प्रकारको प्रतीक्षात्मक राजनीतिक मुद्रा जस्तो देखिन्छ। भर्खर बाहिरिएको संक्षिप्त संवादमा ‘शान्त रहनुस्, वर्तमान अवस्था अस्थायी हो, चुनावपछि अदालतको निर्णय आउँदैछ’ भन्ने आशय व्यक्त गरिएको भनाइले पार्टीभित्र शक्ति–सन्तुलन अस्थायी रूपमा परिवर्तन भएको स्वीकारोक्ति र दीर्घकालीन रणनीतिमा न्यायिक मोडलाई निर्णायक मोडबिन्दुका रूपमा हेर्ने संकेत दुबै झल्काउँछ।

यस्तो संकेतले चुनावी अभियानमा कार्यकर्ताहरूको मनोबललाई सक्रियता भन्दा धैर्यतर्फ धकेल्ने जोखिम बोकेको हुन्छ। चुनाव भनेको स्वभावतः उर्जाशील र आक्रामक अभियानको समय हो, तर नेतृत्वको मौनता र प्रतीक्षाको भाषा संगठनात्मक ऊर्जा घटाउने कारक बन्न सक्छ। लामो समय निरन्तर नेतृत्वमा रहेका देउवाको यो मौनता केवल रणनीति मात्र नभई उत्तराधिकारको मनोवैज्ञानिक द्वन्द्वसँग पनि गाँसिएको देखिन्छ। पुरानो नेतृत्व र उदीयमान पुस्ताबीचको सम्बन्ध सधैं प्रतिस्पर्धा र निर्भरताको मिश्रणमा आधारित हुन्छ, र अहिले काँग्रेसभित्र यही द्वन्द्व स्पष्ट देखिन्छ।

यसबीच पार्टीको चुनावी मोर्चामा उभिएका दुई युवा अनुहार—गगन थापा र विश्वप्रकाश शर्मा—नयाँ पुस्ताको ऊर्जा र आशाको प्रतिनिधित्व गर्दै देखिन्छन् । गगन थापा स्वयं कठिन प्रतिस्पर्धामा छन् भने विश्वप्रकाश शर्मा एक्लो मुख्य प्रचारक र सन्देशवाहकका रूपमा पार्टीको विचारधारात्मक बचाउ गरिरहेका छन्। तर संस्थागत शक्ति–संरचना अझै पुरानो नेतृत्वकै प्रभावमा रहँदा ‘ऊर्जा छ, तर नियन्त्रण छैन’ भन्ने विरोधाभास पार्टीभित्र देखापरेको छ। यही असन्तुलनले कांग्रेसलाई एकैसाथ उदीयमान र अस्थिर दुबै देखाउने परिस्थितिको निर्माण गरेको छ।

चुनावमा देउवाका अत्यन्त विश्वासपात्र उम्मेदवारहरू पनि मैदानमा छन्, र उनीहरूको अवस्था अझ जटिल देखिन्छ। सम्बन्धका कारण उनीहरू अहिले संकटमा देखिए पनि, जितेपछि पुनः देउवाकै निकटता पुनस्र्थापित हुने सम्भावना रहन्छ। तर आजको चुनावी जितको आधार देउवाको प्रत्यक्ष सक्रियता होइन, गगन नेतृत्वको अभियान र पार्टीको समग्र संस्थागत छवि हो भन्ने यथार्थ उनीहरूको राजनीतिक मनोविज्ञानमा द्विविधा पैदा गर्ने तत्व बन्न सक्छ। यसले कांग्रेसभित्र व्यक्तिगत निष्ठा र संस्थागत आवश्यकता बीचको अन्तर्विरोधलाई उजागर गर्छ।

राष्ट्रिय नेतृत्वको समग्र आँकलन पनि यस चुनावमा सहज देखिँदैन। यदि कांग्रेसले बहुमत प्राप्त गर्यो भने, त्यसले संवैधानिक व्यवस्थाप्रतिको दृढता, मध्यमार्गी राजनीतिक संस्कृतिको पुनस्र्थापना र संस्थागत स्थिरताको आशा बलियो बनाउनेछ। तर परिणाम कमजोर आयो भने, त्यसको दोष बाह्य प्रतिस्पर्धाभन्दा बढी आन्तरिक द्वन्द्व, अस्पष्ट रणनीति र नेतृत्वको मनोवैज्ञानिक दूरीतर्फ मोडिन सक्छ। त्यस अवस्थामा चुनाव केवल सिटको हारजितमा सीमित नरहेर पार्टीको ऐतिहासिक विश्वसनीयतामाथि नै प्रश्न उठ्ने जोखिम रहनेछ।

अन्य राजनीतिक विकल्पहरूबारे जनमानसमा मिश्रित धारणा देखिनु पनि कांग्रेसका लागि अवसर र चुनौती दुबै हो। केपी शर्मा ओलीको नेतृत्वप्रति पुनः शक्ति–संकेन्द्रण र संस्थागत टकरावको भयले केही वर्गमा असुरक्षाको अनुभूति जगाइरहेको छ। उता बालेन साह जस्ता उदीयमान व्यक्तित्वप्रति आकर्षण र शंका दुबै समानान्तर छन्—एकातिर परम्परागत राजनीतिप्रति चुनौतीको प्रतीक, अर्कोतिर राष्ट्रिय नेतृत्वका लागि आवश्यक संस्थागत अनुभवको अभावबारे प्रश्न । यस्तो बहुआयामिक जनमतले कांग्रेसलाई अझै पनि “मध्यमार्गी स्थिर विकल्प”को रूपमा स्थापित गरिरहेको छ, यद्यपि पार्टी स्वयं आन्तरिक मनोवैज्ञानिक उल्झनमा रहेको अनुभूति हुन्छ।

यदि चुनावी परिणाम कमजोर रह्यो र त्यसपछि कुनै न्यायिक निर्णयले देउवालाई पुनः निर्णायक भूमिका दिलायो भने, त्यो व्यक्तिगत सन्तोषको विषय हुन सक्छ। तर राजनीतिक अर्थमा त्यो विडम्बना हुनेछ। कमजोर भएको पार्टीमाथि पुनः नियन्त्रण प्राप्त गर्नु ऐतिहासिक उपलब्धि होइन, बलियो र एकताबद्ध पार्टीलाई नेतृत्व गर्नु नै वास्तविक राजनीतिक गौरव हो। इतिहासले संकटपछि उद्धार गर्ने नेतृत्वलाई सम्मान दिन्छ, संकटको बेला मौन रहने वा प्रतीक्षात्मक मुद्रा लिने नेतृत्वलाई होइन।

आजको परिस्थितिमा नेपाली कांग्रेस बाह्य प्रतिस्पर्धीसँग भन्दा बढी आफ्नै मनोवैज्ञानिक द्वन्द्वसँग चुनाव लडिरहेको देखिन्छ। यही द्वन्द्व जित्न सकेमा मात्र उसले राष्ट्रिय नेतृत्व दाबी गर्ने नैतिक र राजनीतिक आधार पुनः सुदृढ बनाउन सक्छ। वर्तमान समयले केवल दलभित्रको एकता होइन, बृहत्तर प्रजातान्त्रिक समाजको परिपक्व सहयोग र सतर्क समर्थन पनि खोजिरहेको छ—किनकी लोकतान्त्रिक व्यवस्थाको स्थायित्व कुनै एक दलको जितले मात्र होइन, लोकतान्त्रिक मूल्यमा आस्था राख्ने व्यापक समाजको सहकार्यबाट नै सम्भव हुने यथार्थलाई परिस्थितिले स्वयं स्मरण गराइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *