सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा मंगलबार आयोजित चुनावी कार्यक्रममा उनले पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरेर अगाडि बढाउने बताए।
सभापति थापाले सर्लाही ४ लाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञा पत्रमा रहेको ‘जनता दलान’ कार्यक्रमअन्तर्गत क्षेत्रका मतदातासँग आफू सिधै सम्पर्कमा रहने बताए।
‘मेरो कार्यालय यहाँ रहन्छ, यस क्षेत्रका मतदाताले मलाई उक्त कार्यालयमार्फत सिधै सम्पर्क गर्न सक्नेछन्। म आफैँ पनि प्रत्येक महिनाको दुई दिन यहाँ आएर जनतासँग छलफल गर्नेछु,’ उनले भने, ‘म यहाँको बेटा हुन आएको हुँ, बेटा बनेपछि निभाउने कर्तव्य मैले राम्रोसँग बुझेको छु। यस क्षेत्रका जनताले गर्व गर्ने किसिमले आगामी पाँच वर्ष काम गर्नेछु।’
सभापति थापाले मधेसको नेतृत्व गरेपछि मात्र आफू सिङ्गो राष्ट्रको नेतृत्वका लागि योग्य हुने बुझाइका साथ सर्लाहीबाट नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन आएको बताए। उनले यस क्षेत्रमा देखिएका धेरै समस्या आगामी एक वर्षभित्रमै न्यूनीकरण हुने बताए।
‘मैले असल नियतले चुनौती दिएको हुँ। मधेसबाट निर्वाचन लड्ने आफ्नै पार्टीका अग्रज नेतालाई पनि मैले भनेको छु, आगामी एक वर्षमा मधेसका ३२ क्षेत्रमा हुने कामको मूल्याङ्कन गर्दा मेरो अङ्क बढी आउँछ। सबै प्रतिनिधिले आफ्ना क्षेत्रमा जनताको सेवासँगै शिक्षा, स्वास्थ्य र आवश्यकताअनुसारका काम गर्न सके गुनासो विस्तारै कम हुन्छ,’ सभापति थापाले भने।
