काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चीनसहित नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपतिसमक्ष चीनका राजदूत चाङ माओमिङ, अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिरले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनीहरू आवासीय राजदूत हुन् ।
त्यसैगरी, राष्ट्रपतिसमक्ष मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । उनीहरू नेपालका लागि गैरआवासीय राजदूत हुन् ।
प्रमाणपत्र पेश गरेपछि चिनियाँ राजदूत चाङले सामाजिक सञ्जालमार्फत सम्माननीय राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्न पाएकोमा गौरवान्वित भएकाे बताएका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, नेपालका लागि २३औँ चिनियाँ राजदूतको रूपमा, चीन–नेपाल साझा भविष्यको समुदाय निर्माणका लागि हाम्रो चिरस्थायी मित्रतालाई अझ सुदृढ बनाउँदै व्यवहारिक सहयोगलाई अघि बढाउन सबै नेपाली मित्रहरूसँग सहकार्य गर्न उत्सुक छु ।


