गगनप्रति रविको कटाक्षः २० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन कानुन परिमार्जन गर्नुपर्ने ज्ञान आयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कानुन फेर्नुपर्ने कुरा पटकपटक सांसद र मन्त्री बनेपछि मात्रै ध्यान गएको भन्दै कांग्रेस सभापति गगन थापाप्रति कटाक्ष गरेका छन् ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बधोन गर्दै सभापति लामिछानेले गगन थापाप्रति लक्षित गर्दै सांसद र मन्त्री बनेको २० वर्षपछि मात्रै सडक बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आएको बताएका हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेन साहले ठेकेदारलाई रुखमा बाँधेर कि जेल हालेर सडक बनाउनुपर्ने बताएपछि कांग्रेस सभापति थापाले त्यसका लागि कानुन परिमार्जन गर्नुपर्ने बताएका थिए । गगनको जवाफको प्रत्यूत्तर दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘तपाईंको ज्ञान तपाईसँग राख्नुहोला। २०/२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १२/१५ वटा कानुन फेर्न पर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई ?’

सभापति लामिछानेले निर्माण व्यवसायीलाई बाँध्ने भनेको कानुनले नै बाध्न खोजिएको बताए । उनले भने, ’बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो। डोरीले बाँध्ने भनेको होइन। कानुनुले बाँधेर काम गराउने भनेको हो । म सबै निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु, हुनसकेसम्म २ सिफ्ट ३ सिफ्टमा काम हुन्छ, रातारात काम हुन्छ, तपाईँसँग भएका उपकरणहरू पर्याप्त छैनन् होला, विज्ञप्ति निकाल्न पर्दैन, के इक्विपमेन्ट ल्याउन पर्ने हो, कसरी ल्याउन पर्ने हो ? त्यसको तयारी गर्नुहोस् अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *