अमेरिकाको भर्जिनियामा दुई नेपालीको हत्या, प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु

काठमाडौँ । भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित म्यान्टुवा क्षेत्रमा सोमबार बिहान एक नेपालीले आफ्नै परिवारका दुई सदस्यको हत्या गरेका छन् ।

म्यान्टुवा क्षेत्रमा ५० वर्षीय छत्रबहादुर थापाले ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । छोरी र श्रीमतीको हत्या गरी उनले ज्वाइँ सन्तोषमाथि आक्रमण गरेका थिए । प्रहरीको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ ।

ज्वाइँको पनि अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनकी छोरीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो भने श्रीमतीलाई अस्पताल लगिएपछि बिहान ९ बजेअघि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

‘५० वर्ष उमेर समूहका यी व्यक्तिले आफ्नै परिवारमाथि गरेको हिंसा अकल्पनीय छ,’ प्रहरी प्रमुख केभिन डेभिसले सञ्चारकर्मीसँगको भेटमा भने । घरमा रहेका एक वर्षका बालक भने सकुशल भेटिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको भर्जिनियामा घटेको यो घटनाले आज फेरि नेपाली समुदाय शोकमा डुबेको छ । अमेरिकामा यसभन्दा अगाडी पनि नेपाली समुदायमा यस प्रकारका विभिन्न घटनाहरूले चिन्तित रहेका नेपालीहरूलाई आजको यो घटनाले झनै बढी मर्माहित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *