बीबीसी । अमेरिकाको पूर्वी तटमा शक्तिशाली हिमआँधीका स्थिति तहसनहस भएको छ । हिमपातका कारण लाखौं नागरिक प्रभावित भएका छन् भने ५ हजारभन्दा बढी उडान रद्द गरिएका छन् ।
रोड आइल्यान्ड र म्यासाचुसेट्सका केहीका केही क्षेत्रमा करिब ३७ इन्चसम्म हिमपात भएको छ । न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिमपात भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । न्युयोर्कमा यात्रा अवस्था ‘लगभग असम्भव’
बनेको भन्दै अधिकारीहरूले चेतावनी दिएका छन् । पूर्वी तटभर ६ लाखभन्दा बढी घर तथा व्यवसायमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन् । अमेरिकाको सबैभन्दा सानो राज्य रोड आइल्याण्डमा यसपटकको हिमआँधीलाई अहिलेसम्मकै भीषण मानिएको छ । राजधानी प्रोभिडेन्समा ३६ इन्च हिमपात भएको छ, जसले सन् १९७८ मा कायम २८.६ इन्चको रेकर्ड तोडेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रोड आइल्याण्डमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । म्यासाचुसेट्सकी गभर्नर माउरा हेलीले पनि दक्षिण–पूर्वी क्षेत्रमा यात्रा प्रतिबन्ध घोषणा गरेकी छन् । म्यासाचुसेट्समा करिब ३ लाख उपभोक्ता विद्युत् विहीन भएका छन् । फ्लाइट अवेरका अनुसार अमेरिकाभित्र, अमेरिका आउने वा जाने ५ हजार ७०६ भन्दा बढी उडान रद्द भएका छन् ।
