-नारायण गाउँले ।
सङ्गठन र लोकप्रियता दुबै भएको रास्वपाले ‘प्रधानमन्त्री’ जस्तो शीर्ष पद नै पार्टीबाहिरका बालेनलाई सुम्पियो । यो सामान्य र सजिलो निर्णय थिएन । रास्वपाकै नेता र कार्यकर्ता नै बालेनका कटु आलोचक थिए । बालेन पनि रास्वपाप्रति खास सकारात्मक थिएनन् । यस्तोमा पार्टीबाहिरको नेतृत्वमा चुनावमा जानु आफैँमा ठूलो रिस्क थियो । तर यो राजनीतिक ’मुभ’ सफल देखियो । दुई पक्षबीचको समायोजन सोचेभन्दा छिटो भयो र दुबैको लोकप्रियता जोडिएन मात्रै, सिनर्जी थपियो र त्यसको ग्राफ उल्लेख्यरूपले बढ्यो ।
सोच्नुस् त, यदि ‘ओभरकन्फिडेन्स’ देखाएको र रास्वपा एक्लै चुनावमा गएको भए उसको प्रतिष्पर्धा शायद बालेन र कुलमानको दलसँग हुन्थ्यो । सहकारीदेखि जेनजी आन्दोलन र त्यसका क्षतिबारे नमिठा टीकाटिप्पणी र आरोप–प्रत्यारोप सुरु हुन्थे, जुन सुरु भई नै सकेको पनि थियो । त्यसको ठूलो क्षति दुबैलाई हुन्थ्यो । मधेशमा रास्वपाको भोट उल्लेख्य रूपले कम हुन्थ्यो । शहरी एरियाबाहेक अन्त बालेन कमजोर देखिन्थे र त्यसको सोझो फाइदा पुराना दललाई पुग्थ्यो । यस्तोमा चुनाव हुन्थ्यो नै भन्न पनि गाह्रो थियो । बालेनले टिमको लिस्ट बुझाउँदासम्म पनि धेरै कार्यकर्तामा खुशी र उत्साह थिएन ।
आज, बालेनकै कारण मधेशको ठूलो जनमत रास्वपातिर जाने देखिन्छ । देशभर युवाहरूको अद्भूत लहर र आकर्षण रास्वपातिर बढेको छ । मधेशका क्षेत्रीय दलको खेल खत्तम हुने र हिजो तिनमा भोट हाल्दै आएका धेरैले यसपालि घण्टी बजाउने स्थिति बनेको छ । हिजो सेलाएकाहरू पनि आज उठेका छन् । रास्वपा आज पहिलो नम्बरको पार्टी बन्ने अनुमान धेरैको छ । मन नपर्नेले त जे भने पनि भयो तर रवि लामिछानेले छोटो समयमा ठूलो त्याग, बुद्धिमानी र रणनीतिक कौशल देखाएकै हुन् । अझ छोटो समयमैं यति ठूलो परिवर्तनलाई व्यवस्थापन गर्न कम चुनौतीपूर्ण थिएन । यो मुभलाई पाँचमा पाँचै अङ्क दिन सकिन्छ ।
यसो सोच्नुस् त, महाधिवेशन नगरी देउवाकै नेतृत्वमा कांग्रेस चुनावमा गएको भए के हुन्थ्यो ? कसकसले टिकट पाउँथे ? के भनेर भोट माग्थ्यो कांग्रेसले ? उम्मेदवारबाहेक अरूलाई घरघरमा पुगेर मत माग्ने साहस र जाँगर कसरी आउँथ्यो ? देउवालाई फेरि प्रधानमन्त्री बनाउने भन्दै यो युगको कुन नयाँ मतदाताले मत हाल्थ्यो ? देउवा, आरजू या शेखर कोइराला नै कहाँ कुन सभामा पुगेर मत बढाउन सक्थे ? विश्व र गगन दुबै चुनाव लड्न इच्छुक थिएनन् ।
यथास्थितिमा कांग्रेस कार्यकर्ताहरूबीच पहिरो नै जाने स्थिति थियो । त्यसै पनि डेमोक्रेटिक मत नै हो हेरफेर हुने । हरेक आमसभा र कोणसभामा कांग्रेस छोडेर रास्वपा प्रवेश गर्नेको ठूलो हुल हुने पक्का थियो । एमाले रक्षात्मक भएर यसपालि अलि शान्त, अलि सुस्त र अलि मौन भए पनि र देशव्यापी अभियान चलाउन सक्ने नेतृत्व नदेखिए पनि सोचे जति कमजोर पनि छैन । उसका सङ्गठित र लोयल भोटर छन् । कांग्रेस तेस्रो बन्न सक्ने स्थिति थियो ।
सिङ्गो राजनीतिक जीवनको बाजी थापेर गगन थापा र विश्वप्रकाशहरूले लास्ट मिनेटमै सही, एउटा दर्शनीय विद्रोह गरे । संयोगवश त्यो सफल पनि भयो । असफल हुँदा थापाहरूको राजनीतिक भविष्य सकिने रिस्क थियो भने सफल हुँदा पनि पार्टीबीच विभाजन आउने र चुनावमा बढारिने डर थियो । बालेनका रूपमा रास्वपाले मास्टरस्ट्रोक खेलेपछि मधेशलाई जोड्ने र पार्टीलाई जीवित राख्ने कडी पातलो थियो ।
नेतृत्वको विद्रोह मात्रै भएन, गगनले आफैँ मधेश झरेर एउटा बलियो मुभ गरे । स्वतन्त्र उठेरै पनि कांग्रेस उम्मेदवारलाई हराएका अमरेश कुमारसँग लड्नु आफैँमा ठूलो रिस्क थियो । त्यसमाथि अहिलेको घण्टी–लहर र बालेनको नाम । ब्याक–टु–ब्याक दुई वटा रिस्क क्याल्कुलेटेड नै भए पनि सामान्य होइन । आज मधेशमा कांग्रेस जिउँदो बनेर उदायो । हिजो अन्यत्र लागेका नेता र कार्यकर्ताको ठूलो हुल कांग्रेस फर्कियो । यस्तो विपरीत माहोलमा समेत देशभर रास्वपा छोडेर नेता र कार्यकर्ता कांग्रेस प्रवेश गरेका खबर सुनिँदै छ । विद्रोह नभएको भए यो खबर उल्टो हुन्थ्यो । यद्यपि ’मासबेस्ड’ भएकाले केही नेताहरू फर्केर रास्वपालाई ठूलो क्षति त नहोला तर कांग्रेसभित्रको ठूलो जनमत चुहिनबाट रोकिएको छ । पार्टीको मत त छँदै छ, पार्टीबाहिर पनि उनको रेटिङ र विश्वास बढेको देखिन्छ । अन्य पार्टीले समेत आफू नजित्ने ठाउँमा कांग्रेसलाई भोट हाल्ने सम्भावनासम्म पार्टीलाई ल्याउनु उनको सफलता हो । तेस्रो बन्न सक्ने दल आज पहिलो ठाउँका लागि स्पर्धा गर्दैछ ।
गगन थापाको यो विद्रोह र मुभ ट्याक्टिकलभन्दा पनि स्ट्रेटेजिक देखिन्छ र परिणाम दिने खालको छ । मन नपर्नेले जे भने पनि भयो, तर यो मुभका लागि पनि पाँचमा पाँच नै नम्बर दिन सकिन्छ । राजनीतिमा आज प्रतिष्पर्धा, भोलि सहकार्य पनि हुन सक्छ । नभए पनि एउटा सत्तामा र अर्को सबल प्रतिपक्ष बनेर लोकतन्त्रलाई बलियो बनाउन सक्छन् । परिणाम जे आउला तर क्षेत्रीय, जातीय र सङ्कुचित मुद्दामा लड्ने थुप्रै साना पार्टीको दोकान यी दुई मुभले बन्द गर्ने आशा गर्न सकिन्छ । नेपाली राजनीति र सत्ता ओगटेर बसेको एउटा बुढो र अकर्मण्य पुस्ता त बढारिई नै सक्यो । यी दुई मुभलाई अलि फरक र तटस्थ कोणबाट हेर्दा तपाईं के देख्नुहुन्छ ?
