कसैले बुथ कब्जा गर्ने साना सपना नदेखे हुन्छ, देशमा नेसनल भोलेण्टियर फोर्स छः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनमा बुथ कब्जा गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

सोमबार झापामा नेसनल भोलेण्टियर फोर्सको कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा अध्यक्ष ओलीले मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनु पर्ने बताए । उनले भने, ‘कसैले बुथ कब्जा गर्ने साना सपना नदेखे हुन्छ, देशमा नेसनल भोलेण्टियर फोर्स छ।’

उनले नेसनल भोलेण्टियर फोर्स केवल चुनावकाको लागि नभई राष्ट्रको दीर्घकालीन सुरक्षाका लागि गठन गरिएको स्पष्ट पारे । ‘अब नेसनल यूथ भोलेण्टियर फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन,’ उनले भने ।

अध्यक्ष ओलीले यो फोर्सको कार्यक्षेत्रमा विशेष जोड दिँदै भने, ‘नेसनल भोलेण्टियर फोर्सले प्रहरी प्रशासनलाई सहयोग गर्ने, उपद्रो र आतंक मच्चाउन नदिने, र शान्ति तथा सुरक्षालाई सुनिश्चित गर्ने काम गर्नेछ, यसले अब प्रहरीको हतियार र बर्दी खोस्न दिँदैन।’

उनले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको दोहोर्याउँदै मतदाताको स्वतन्त्र अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैक्रममा अध्यक्ष ओलीले पार्टी र युवा फोर्सबीचको समन्वयले निर्वाचन क्षेत्रभित्र अनुशासन कायम राख्ने, मतदातालाई डर वा दबाबबाट बचाउने लक्ष्य रहेको जानकारी दिए ।

अध्यक्ष ओलीले एमालेको पहिलो प्राथमिकता देश भएको बताए । उनले आफ्नो नेतृत्वमा देश विकासको धेरै काम भएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए । त्यसैले आफूले पुनः नेतृत्व लिन चाहेको ओलीले स्पष्ट पारे । यस ठाउँको विकासको जिम्मा मेरो, यो प्रदेशको विकासको जिम्मा मेरो, यो देशको विकासको जिम्मा मेरा’, ओलीले भने ।

उनले कसैले लहडमा प्रधानमन्त्री बन्छु भन्दैमा प्रधानमन्त्री नबन्ने दाबी गरे । अहिले कोहीले बालहठ जस्तो गरी आफूलाई प्रधानमन्त्री घोषणा गरेका बताउँदै उनले त्यो सम्भव नभएको स्पष्ट पारे ।
ओलीले देशको विकास गर्ने पार्टी नेकपा एमाले नै भएकोले एमालेले देश विकास गर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *