व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने

राजविराज ।  स्थानीय प्रशासनले आसन निर्वाचनलाई लक्षित गरी व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सरोकारवालाको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित तवरबाट सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

जिल्लास्थित खुद्रा मदिरा पसलहरूले व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरासमेत बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएको अवस्थामा उक्त मदिरा जफत गरी नष्ट गर्नुका साथै प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा बिक्रेताहरूले मदिरा बिक्री वितरण गर्न पाउने समय साँझ ७ बजे र होटल तथा रेष्टुरेन्टहरूमा सेवन गर्ने समय बढीमा सटर बन्द गर्ने गरी ८ बजेसम्म मात्र रहने निर्णय गरेको प्रजिअ पोखरेलले बताए ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा रहेका मिठाई पसलले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने रंग प्रयोग गरी सामान उत्पादन गर्ने कार्यको यकिन गरी अत्यधिक रंग र अखाद्य रंग भएको भए जफत गरी कारबाही गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार शिक्षण संस्था (विद्यालय, कलेज), स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरूबाट कम्तीमा १०० मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा सोही ऐनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *