काठमाडौं । आजबाट पुन:सुरु भएको एन्फा राष्ट्रिय लिगमा विभागीय टोली नेपाल एपीएफ क्लब विजयी भएको छ । आइतबार दिउँसो भएको खेलमा नव जन जागृति क्लबलाई ४-१ गोलले पराजित गर्दै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलाउन हरि कार्की, युवराज खड्का, समिराज ठोकर र अनिश घर्ती मगरले समान एक/एक गोल गरे । जव जन जागृतिको लागि निश्चय थापाले एक गोल गरे । खेलको ३० औँ मिनेटमा निश्चयले गोल गर्दै जन जागृतिलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४३ औँ मिनेटमा हरिले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए । ४६ औँ मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई २-१ गोलको अग्रता दिलाए । ५६ औँ मिनेटमा समिराजले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए । तीन मिनेटपछि अनिशले गोल थप्दै एपीएफलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एपीएफ ४-१ गोलले विजयी भएको हो । जितसँगै एपीएफ ६ खेलबाट १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंकविहीन नव जन जागृति पुछारमा यथावत रहेको छ ।
