एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा ओसासुनासँग २-१ गोलले स्तब्ध बनेसँगै म्याड्रिडले शीर्ष स्थानमा अग्रता बढाउने मौका गुमाएको हो ।
इस्टाडियो एल सादरमा भएको खेलमा ओसासुनालाई जित दिलाउन एन्टे बुडिमिर र राहुल गार्सियाले समान एक/एक गोल गरेका हुन् । म्याड्रिडको लागि भिनिसियस जुनियरले एक गोल फर्काए । खेलको ३८ औँ मिनेटमा बुडिमिरले गोल गर्दै ओसासुनालाई शुरूवाती अग्रता दिलाएका थिए ।
७३ औँ मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै निर्धारित समयको अन्तिम मिनेटमा गार्सियाले गोल गर्दै ओसासुनालाई २-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै ओसासुना २५ खेलबाट ३३ अंक जोड्दै अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ३३ अंक जोडेको म्याड्रिड ६० अंकको साथ शीर्ष स्थानमा यथावत रहेको छ ।
