पेरिस । इरानी विद्यार्थीहरूले हालैको प्रदर्शनको श्रृङ्खलामा मारिएका व्यक्तिहरूको पक्षमा गरिएको प्रदर्शनमासरकार विरोधी नारा लगाएका छन् ।
विदेशबाट चल्ने र स्थानीय इरानी मिडियाले भनेका छन्, “जब इस्लामिक धर्मगुरू नेतृत्वको विरोध गर्ने इरानी समूह र सरकारको समर्थनमा आवाज उठाइरहेका अन्य समूहबीच आमनेसामने भएपछि प्रदर्शनमा उत्रिएका इरानी विद्यार्थीले सरकारको विरोधमा नारा लगाएका छन्।”
एएफपीले तेहरानको शीर्ष इन्जिनियरिङ विश्वविद्यालयमा खिचेको बताएको भिडियोमा भीडमा झगडा भएको देखिन्छ र मानिसहरूले फारसी भाषामा ‘बी शराफ’ अर्थात् ‘अपमानजनक’ कार्य भनेर चिच्याएका देखिन्छ ।
फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेशनलले पोस्ट गरेको फुटेजमा पनि ‘शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी’मा ठूलो भीडले सरकार विरोधी नारा लगाएको देखिएको छ।
जनवरी ८ र ९ मा हजारौँ मानिसको मृत्यु भएको ४० औँ दिनमा इरानीहरूले शिया शोक परम्परा अनुसार कार्यक्रम गरेका थिए भने प्रदर्शनका सहभागीले यस हप्ता आफ्नो सरकार विरोधी नारा राजधानीमा पुनः लगाएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरु शनिबार राजधानीका विभिन्न विश्वविद्यालयमा भेला भएका थिए ।
लामो समयको आर्थिक तनावका कारण डिसेम्बरमा पहिलो पटक सरकारविरोधी प्रदर्शन सुरु भएको थियो, तर सामूहिक सरकार विरोधी प्रदर्शनमा सरकारले बल प्रयोग गरेपछि यसले हिंसात्मक रूप लिएको थियो । यद्यपि, आन्दोलनलाई व्यापक सुरक्षाकर्मी लगाएर दबाइएको थियो । अधिकारवादी समूहहरूले प्रदर्शनमा भएका भिडन्त र सरकारी दमनका क्रममा हजारौँको मृत्यु भएको बताएका छन् ।
प्रदर्शनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको इश्लामिक धर्मगुरूहरूले स्वीकार गरेका छन्, तर भन्छन् कि हिंसा इरानका शत्रुहरूले उक्साएको ‘आतङ्कवादी गतिविधि’ का कारण भएका थिए ।
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए)’ ले भने प्रदर्शनकारीतर्फ सात हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।
स्थानीय समाचार संस्था फार्सले भनेको छ, “मारिएकाहरूको सम्झनामा विद्यार्थीहरूको ‘मौन र शान्तिपूर्ण धर्ना’ मा इरानका सर्वोच्च नेतालाई सङ्केत गर्दै ‘तानाशाह मुर्दावाद’ लगायतका नारा लगाइरहेका समय सरकार समर्थित मानिसहरूले अवरोध पुर्याएका थिए ।
फार्सले पोस्ट गरेको भिडियोमा मास्क लगाएका र सुट लगाएका पुरुषहरूले इरानी झण्डा हल्लाइरहेको देखिन्छ। दुबै समूहले हिंसाका क्रममा मारिएका आफन्तको स्मरणका लागि उनीहरूका तस्वीरहरू प्लाकार्डमा समाइरहेका देखिन्थे ।
इरानका अधिकारीहरू संयुक्त राज्य अमेरिकासँग देशको परमाणु कार्यक्रमबारे सम्झौता गर्न दबाब दिइरहेका बेला यी प्रदर्शनहरू भएका हुन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि सैन्य कारबाहीको चेतावनी दिएका छन् ।
