ब्राजिल र भारतबीच महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली । भारत र ब्राजिलबीच शनिबार महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँगको वार्तापछि यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
“महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सम्झौता लचिलो आपूर्ति श्रृङ्खला निर्माणको दिशामा एक प्रमुख कदम हो,” भारतीय प्रधानमन्त्री मोदीले भने ।

विश्वकै दोस्रो ठूलो ब्राजिलमा उत्पादन हुने महत्वपूर्ण खनिज भण्डार विद्युतीय सवारी साधन, सोलार प्यानल तथा स्मार्टफोनदेखि जेट इन्जिन र गाइडेड मिसाइलसम्म निर्माणका लागि प्रयोग गरिन्छ ।

शीर्ष निर्यातकर्ता चीनसँगको निर्भरता घटाउन भारतले घरेलु उत्पादन र पुनः प्रशोधनलाई विस्तार गर्दै नयाँ आपूर्तिकर्ताको खोजी गरिरहेको छ ।

लुलाले भने, “नवीकरणीय ऊर्जा र महत्वपूर्ण खनिजको मामिलामा लगानी र सहयोग बढाउनु हामीले आज हस्ताक्षर गरेको अग्रगामी सम्झौताको मूल सार हो।”

सम्झौताको विस्तृत विवरण नभए पनि भारतीय विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले उक्त सम्झौताबारे औपचारिक छलफल भइरहेको बताए ।

“राष्ट्रपति लुलाले ब्राजिलको महत्वपूर्ण र दुर्लभ खनिजको भण्डारका बारेमा विस्तृत प्रस्तुति दिनुभएको छ,” पी. कुमारनले भने ।

उनले भने, “ब्राजिलमा ३० प्रतिशत मात्रै भण्डार अन्वेषण भएको छ, त्यसैले ब्राजिलले खनिज अन्वेषण, प्रशोधन र प्रयोगका लागि प्रशस्त सम्भावना बोकेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *