लुटिएका हतियार र भागेका बन्दी पक्राउ गर्न सरकारलाई खनालको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रत्येक वडा तहसम्म पुर्याउनुपर्ने बताएका छन् ।

बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिद्वारा शनिबार आयोजित चुनावी प्रतिबद्धता अन्तर संवाद कार्यक्रममा उनले पार्टीले उठाउँदै आएको सुशासन, आत्मनिर्भर अर्थतन्त्र, रोजगारीका विषयमा राजनीतिक कार्यक्रम तथा प्रतिबद्धता जनतालाई राम्रोसँग बुझाउन सक्नुपर्ने बताएका हुन् ।

मुलुकमा विद्यमान सबै प्रकारका सङ्कटमा समाधान गर्न नेपाली कम्युनिष्ट पार्टी सक्षम रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री खनालले देश र जनताको हितमा समर्पित आफ्नो पार्टीलाई निर्वाचनमा जनताले मूल्याङ्कन गरेर अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार खोजी गर्न, भागेका बन्दी पक्राउ गर्न सरकारलाई आग्रह गर्दै उनले नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा जुट्न र आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गरे ।

निर्वाचनका प्राविधिक विषयमा विभिन्न दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको भन्दै उनले अन्य दल र नेताबाट निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *