काठमाडौं । उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबलाई २-१ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
थारुहाट स्टेडियममा भएको खेलमा एपीएफलाई जित दिलाउन गीता राना र रेनुका नगरकोटीले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा गीता रानाले हेडर गोल गर्दै एपीएफलाई शूरुवाती अग्रता दिलाएकी थिइन् ।
६८ औँ मिनेटमा रेनुकाले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । चार मिनेटपछि जेनिफरले गोल गर्दै आर्मीलाई २-१ गोलको स्थितिमा ल्याएकी थिइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एपीएफ २-१ गोलले विजयी भएको हो ।
