काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ । शनिबार विज्ञप्ति जारी गरी एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको जनाएको हो ।
चुनावलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन समपन्न गराउने विषयमा सरकारले शान्ति सुरक्षाको वातावरणलाई भरपर्दो र विश्वासयोग्य बनाउन नसकिरहेको भन्दै एमालेले मुलुकभर कुनै एक अमुक दलले आफ्नो आस्थाको केन्द्र सूर्य अङ्कित झण्डा जलाउने, मूल नेतृत्वप्रति घृणा फैल्याउने कार्यलाई तीव्र पारेको उल्लेख गरेको छ ।
मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रका रूपमा भएका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ । यसतर्फ सरकार र सम्बन्धित निकायलाई जवाफदेही र उत्तरदायी बन्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि एमालेले माग गरेको छ ।


