चिनियाँ नयाँ वर्ष ‘गार्डेन पार्टी’ काठमाडाैँमा सम्पन्न

काठमाडाैँ । चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँस्थित चिनियाँ साँस्कृतिक केन्द्रमा ‘गार्डेन पार्टी’ भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न कार्यक्रममा चीन र नेपालका कूटनीतिक, पर्यटन तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा रहेको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री अनीलकुमार सिन्‍हा तथा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओ मिङलगायतका विशिष्ट अतिथिहरूले शुभकामना आदान–प्रदान गर्दै नेपाल–चीन मित्रतालाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमस्थल रंगीन लालटिन र चाडपर्वका सजावटले सुसज्जित गरिएको थियो । प्रारम्भिक सत्रमा ठूलो पर्दामार्फत सीसीटिभी बसन्त चाड गालाका झलक, चीनको हिउँदे पर्यटनसम्बन्धी प्रवर्द्धनात्मक भिडियो तथा चाइना साउदर्न एयरलाइन्सको परिचय प्रस्तुत गरिएको थियो ।

“नि हाओ चाइना” शीर्षकअन्तर्गत पर्यटन प्रवर्द्धन तथा काठमाडौं–चीनबीचका सहज उडान सेवाबारे प्रस्तुति दिइएको थियो, जसले दुवै देशबीच पर्यटन सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

 “टेम्पाे अफ चाइना” फोटो प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, अन्तरक्रियात्मक कार्यक्रम तथा चिनियाँ खानाका परिकारहरूले सहभागीलाई चिनियाँ संस्कृतिको जीवन्त अनुभव गराएका थिए । साथै नेपाली गीत–नृत्यले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो ।

चीन साँस्कृतिक केन्द्र नेपाल, चाइना साउदर्न एअरलाइन्स काठमाडौं कार्यालय तथा चाइना नेशनल टुरिजम कार्यालय काठमाडाैँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ३ सय ३० भन्दा बढीकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम सफल पार्न कलङ्की स्युचाटारस्थित एलआरआई कन्फ्युसियस क्लासरूम विशेष सहयाेगी संस्थाकाेरूपमा रहेकाे थियो ।

आगामी दिनमा पनि नेपालस्थित चीन सांस्कृतिक केन्द्रले दुई देशबीचको सांस्कृतिक तथा पर्यटन सहकार्यलाई निरन्तरता दिँदै मित्रताको नयाँ अध्याय लेख्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *