जनकपुरमा चारदिने अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न

धनुषा । मैथिली भाषा, साहित्य र कलालाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यसहित आयोजित चारदिने ‘जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव २०८२’ शुक्रबार सम्पन्न भएको छ ।

मैथिली विकास कोषको आयोजना तथा मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र राजर्षिजनक विश्वविद्यालयको सहआयोजनामा सम्पन्न महोत्सव यस वर्ष विद्यालय केन्द्रित बनाइएको थियो ।

उपमहानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागितामा नृत्य, वक्तृत्व, चित्रकला र कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई दोसल्ला ओढाएर शिल्ड, कप, नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । समापन समारोहमा मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्ण र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतले विजेतालाई सम्मान गरेका थिए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख साह, तथा पूर्वमन्त्री रामसरोज यादवलगायतले महोत्सवले मैथिली भाषा र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको धारणा राखे ।

चारदिने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल र भारतका मैथिली भाषा, साहित्य, संस्कृति तथा सामाजिक–आर्थिक क्षेत्रमा योगदान दिएका विद्वान, कलाकार र सर्जकहरूको सहभागिता रहेको थियो । यस संस्करणमा समसामयिक २० विषयमा विमर्श सत्र सञ्चालन गरिएको थियो ।

कोषले यसअघि २०७३, २०७५, २०७८ र २०८० सालमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *