जय ट्रफीको पहिलो दिन भीमको सतक

काठमाडौं । जय ट्रफी आजबाट शुरू भएको छ । आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबका भीम शार्कीले सतक बनाएका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पुलिसले ५३.३ ओभरमा ८ विकेटको क्षतिमा १ सय ८७ रन बनाउँदै इनिंस सकिएको घोषणा गरेको थियो । पुलिसको लागि राशिद खानले सर्वाधिक ३८ रन बनाउँदा कप्तान आरिफ शेखले ३६, कुशल भुर्तेलले ३०, दिल्साद अलीले २७, ललित राजवंशीले १८, सर्वन यादवले ११ र अमित श्रेष्ठले १० रन बनाए ।

आर्मीका पवन कार्कीले १०.३ ओभरमा ५१ रन दिएर चार विकेट लिँदा आकाश चन्द, शाहाब अलाम, नरेन साउद र बासिर अहमदले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ४० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३४ रन बनाउँदै इनिंस सकिएको घोषणा गरेको थियो । आर्मीको लागि भीम शार्कीले सतक बनाए । उनले १ सय १३ बलमा १४ चौका र एक छक्काको मद्दतमा १ सय ५ रन बनाए । यस्तै पवन कार्कीले ३७, नरेन साउदले ३१ र त्रित राज दासले १४/१४ रन बनाए ।

पुलिसका सागर ढकालले १७ ओभरमा एक मेडन राख्दै ९२ रन दिएर ६ विकेट लिए । यस्तै ललित राजवंशीले दुई र कुशल भुर्तेलले एक विकेट लिए ।

पहिलो इनिंसबाट ४७ रनले पछाडि परेको पुलिसले ७ ओभरमा एक विकेटको क्षतिमा २३ रन बनाउँदा दिन सकिएको थियो । पुलिसका कुशल भुर्तेल १२ र शंखर राना ७ रन बनाउँदै क्रिजमा छन् ।

यस्तै अर्को खेलमा एपीएफविरुद्ध बागमती ३१ रनले पछाडि रहेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको बागमतीले पहिलो इनिंसमा ५४.५ ओभरमा ९ विकेटको क्षतिमा २ सय ७ रन बनाउँदै इनिंस सकिएको घोषणा गरेको थियो । बागमतीको लागि विकेक मगरले ४२, रिजन ढकाल र आशुतोष घिराइयाले समान ३५/३५ तथा शुभ कंसाकरले ३४ रन बनाएका थिए ।

एपीएफको लागि इशाद अहमदले तीन विकेट लिँदा युवराज खत्री र रोहित पौडेलले समान दुई/दुई विकेट लिए । अमर राउटेला र अभिशेष गौतमको नाममा एक/एक विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफ ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३९ रनमा समेटिएको थियो । एपीएफका शीर्ष चार ब्याट्सम्यान बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाउँदा सन्दीप जोराले ६१, दीपक बोहोराले ३८ र आसिफ शेखले २८ रन बनाए ।

बागमतीका रिजन ढकालले तीन तथा विपिन आचार्य र सुर्य तामाङले समान दुई/दुई विकेट लिए । तिलक भण्डारी र इशान पाण्डेलेपनि एक/एक विकेट लिए ।

पहिलो इनिंसबाट ३२ रनले पछाडि रहेको बागमतीले ३.२ ओभरमा एक विकेटको क्षतिमा एक रन बनाउँदा इनिंस सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *