काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएका छन् । जिल्लाको दुवै निर्वाचन अधिकृत कार्यालयले कर्मचारी विवरण एकीकृत गरी सार्वजनिक गरेको छ ।
जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । यसअन्तर्गत कुल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम छन् । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक सहयोगी कर्मचारी खटाइने व्यवस्था छ ।
४०० मतदान केन्द्रमध्ये तीनमा महिला कर्मचारीले मात्रै निर्वाचन सञ्चालन गर्ने जिम्मा पाएका छन् । धुलिखेल–१० स्थित कालिका माध्यमिक विद्यालय शारदाबतासे ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत दमयन्ती पाण्डे, सहायक मतदान अधिकृत श्रद्धा शर्मा, सहायक कर्मचारी चन्द्रिका विक, मन्दिरा न्यौपाने र सरिता खनाल तिमल्सेना, सहयोगी कर्मचारी सोनिका सुनार खटाइएका छन् ।
धुलिखेल–९ स्थित करथरी मावि ‘ख’ केन्द्रमा मतदान अधिकृत सरिता लामा, सहायक मतदान अधिकृत दुर्गा अधिकारी र सहायक कर्मचारी सीता लामा, गोपिनी खड्का, गीता पुर्कुटी खटाइएका छन् भने सहयोगी कर्मचारी बाहेक सबै महिला छन् । निर्वाचन क्षेत्र नं २ को धुलिखेलस्थित सञ्जीवनी मावि अड्डाबजार ‘क’ केन्द्रमा मतदान अधिकृत अमुना सुवाल, सहायक मतदान अधिकृत रीता अधिकारी, सहायक कर्मचारी कविता पाण्डेय, मीना भोमी, सपना श्रेष्ठ र सहयोगी कर्मचारी राधिका बोहरा खटाइएका छन् । सञ्जीवनी मावि अड्डाबजार ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत निष्ठा कर्माचार्य, सहायक मतदान अधिकृत अस्मिता पौडेल, सहायक कर्मचारी प्रेक्षा खनाल, समीक्षा बसेल, महेश्वरी चन्द र सहयोगी कर्मचारी लक्ष्मी हुमागाईं खटाइएका छन् ।
जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीका अनुसार मतदान अधिकृतका लागि उपसचिवस्तरका ५१, शाखा अधिकृतस्तरका ५४६ र छैठौँ तहका १९१ कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरिएको छ । चार सहायक मतदान अधिकृतका लागि नायब सुब्बास्तरका ८७७, सहायक कर्मचारी १,२००, खरिदारस्तरका १,४६८ र चार सय सहयोगी कर्मचारीका लागि ५०३ कर्मचारीको नामावली तयार गरिएको छ ।
जिल्लामा कुल ३,२६,६११ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । यसमा ११ स्वतन्त्र उम्मेदवार पनि छन् ।
