काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा आसन्न निर्वाचन प्रचार–प्रसारका क्रममा रास्वपाको सभामा नेकपा एमालेको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाएको छ ।
संघका अध्यक्ष महाराज गुरुङले शुक्रबार विज्ञप्ति जारी गरी दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएकोमा आपत्ति जनाएका हुन् ।
उनले राजनीतिक असहमतिलाई अराजकता वा अपमानमा रुपान्तरण गर्नु लोकतान्त्रिक मर्यादाको उल्लङ्घन भएको भन्दै सबै मातहत कमिटीहरुलाई शान्तिपूर्ण बिरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।
उनले यस घटनामा रास्वपालाई यथाशीघ्र सार्वजनिक रूपमा माफी माग्न, यस्ता गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न आग्रह गरेको छ ।
उसले यसलाई बेवास्ता गरे र यस्ता गतिविधि दोहोरिए देशव्यापी सशक्त प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ । बिहीबार दाङमा रास्वपा कार्यकर्ताले एमालेका झण्डा जलाउँदै घण्टीका पक्षमा र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ ।

