भोजपुर । भोजपुर रङ्गशालामा सञ्चालित सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भोजपुर–४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय दाँवाले जितेको छ ।
प्रतियोगितामा सिद्धेश्वर माविले १३ स्वर्ण, छ रजत र पाँच कास्य प्राप्त गरेको छ । प्रतियोगितामा नगरभित्रका नौ विद्यालयका खेलाडीले सहभागिता जनाएका थिए । यस्तै भोजपुर–७ को विद्योदय माध्यमिक विद्यालयले नौ स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोश्रो स्थान तथा भोजपुर–५ को पञ्चकन्या माध्यमिक विद्यालय तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित तेस्रो बन्न सफल भयो ।
प्रतियोगितामा भोजपुर–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालय चौथो, वडा नम्बर ११ आम्तेकस्थित जनकल्याण माध्यमिक विद्यालय पाँचौँ र वडा नम्बर एक भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयले छैटौँ स्थान प्राप्त गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम प्रधानले जानकारी दिए ।
विजेतालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।
