विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर पुनर्निर्माणको जिम्मेवारी हाम्रो होः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत भएका राष्ट्रका धरोहर जोगाउन आवश्यक भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन । प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान । आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ– पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने । दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने । तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने । आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सकौं । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *