नेपाललाई समृद्ध मुलुकमा रुपान्तरण गर्न सक्यौं भने मात्र शहीदहरुप्रति सच्चा सम्मान हुनेछः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना दिएका छन् । बिहीबार विज्ञप्ति जारी गरी सभापति थापाले २००७ सालको ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको यस गौरवमय दिनका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका हुन् ।

उनले कात्र्तिक २६, २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक लगायत हरेक क्षेत्रमा अग्रगामी मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२÷६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो । राष्ट्रिय स्वाधिनता र नागरिक अधिकार लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा अनेकौं सपूतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन् । नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रुपान्तरण गर्न सक्यौं भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहीदहरुप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्छ भन्ने मैले विश्वास लिएको छु ।’

त्यसैगरी सभापति थापाले मुस्लिम धर्मावलम्वीहरूको पवित्र पर्व रमजान महिना (निराहार व्रत) रोजाकोे अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् । विज्ञप्ति जारी गरी उनले रमजानको पावन महिनाले सबैमा शान्ति, सहिष्णुता, संयमता र आध्यात्मिक उन्नति प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *