कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने प्रतिबद्धता

गण्डकी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ का उम्मेदवारहरुले कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपोखरी विकासमञ्च, पोखरा महानगर– ३३ द्वारा कास्की क्षेत्र नं २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारसँग बुधबार आयोजित ‘जनतासँग उम्मेद्वार –उम्मेद्वारसँग जनता’ विषयक साक्षात्कारमा उनीहरुले नयाँ पुस्ताले माग गरेको सुशासनसँगै यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार हेमबहादुर थापा पराजुलीले जेनजी आन्दोलनका क्रममा उठेको भ्रष्टाचाररहित समाज निर्माणको विषयलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दीपक भण्डारीले विद्यमान प्रशासनिक झन्झटलाई सहज बनाउँदै सरकारी सेवालाई सहज एवम् प्राथमिकता बनाउन पहल गर्ने बताए । उज्यालो नेपाल पार्टीका उम्मेद्वार कुशल गुरुङले पर्यटनको राजधानी पोखरामा विद्यमान फोहर व्यवस्थापनको समस्या समाधान गराउने उल्लेख गरे ।

नेपाल जनमुक्ति पार्टीका उम्मेद्वार ख्यामबहादुर गुरुङले कृषि र पर्यटनको विकासबाटै यस क्षेत्रको विकास गर्न सकिने बताए । स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद तिवारीले आत्मनिर्भर कृषि उद्यमको विकास लगायतका विषयलाई प्राथमिकतामा राखिने भन्दै शिक्षाको सुलभतासँगै करको दर घटाउने लगायतका विषयमा जोड दिने बताए ।

यस क्षेत्रबाट १७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कूल मतदाता ८४ हजार १३४ जना रहेका छन् भने मतदान केन्द्रको सङ्ख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *