धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले देश बनाउने पार्टी रास्वपा मात्रै भएको बताएका छन् । बुधबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् ।
उनले रास्वपा पार्टी सरकारमा गएपछि कांग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो बनाउने बताए । उनले देशलाई स्वीजरल्याण्ड बनाउने भने ठूला सपना नदेखाउन पनि आग्रह गरे ।
उनले भने, ‘मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्यो स्वीजरल्याण्ड ? स्वीजरल्याण्डको पराकाष्ठा रामारोस यहीँ छ किन बनाउनुपर्यो स्वीजरल्याण्ड ? खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ ।’
उनले नेपालीले माल पाएर पनि चाल नपाएको जस्तो भएको बताए । उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको भन्दै पार्टीका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
उनले सबै तहका जनताले विकासको अनुभव गर्न पाउनुपर्ने बताए । उनले भने, ‘खल्तीमा पैसा नभएको विपन्नले शिक्षा पाउनुपर्छ । स्वास्थ्य उपचार पाउनुपर्छ । त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्यो । त्यो हो हाम्रो एजेन्डा । यहाँ त अरू पार्टीका मान्छे भएका ठाउँमा बाटो बनाउँदैनन् । तर, रास्वपा सबै हिँड्ने बाटो बनाउँछ ।’
