दीपकुमार उपाध्यायसहित १९ जनालाई कारबाही गर्न कांग्रेस कपिलवस्तुको सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायसहित १९ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ ।

पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै उनीविरुद्ध कारबाहीको सिफारिस गरेको छ ।

उपाध्यायका छोरा आशिषले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । मंगलबार बसेको बैठकले उपाध्याय, बागी उम्मेदवार आशिष, पार्टीका कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँसहित १९ जनालाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए ।

कांग्रेसले यो क्षेत्रमा अतहर कमल मुसलमानलाई उम्मेदवार बनाएको छ । कांग्रेस कपिलवस्तु जिल्ला अनुशासन समितिको फागुन ३ गतेको बैठकले पार्टीको विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गर्न जिल्ला कार्यसमितिमा सिफारिस गरेको थियो ।

त्यही सिफारिस अनुरूप निर्णय गरी कारबाहीका लागि सिफारिस गरिएको सभापति कलामले जानकारी दिए । कारबाही सिफारिस गर्नेमा महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन र विष्णु प्रसाद न्यौपानेसहित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *