‘ध्वनि चिकित्सामार्फत स्वास्थ्योपचार सम्भव’

काठमाडौँ । आधुनिक विज्ञान र प्रविधिको युगसँगै स्वाथ्य क्षेत्रमा विकास भएका आधुनिक चिकित्सा पद्धतिका बीचमा पनि सबै खालका स्वास्थ्य समस्या प्राकृतिकबाटै पनि सम्भव रहेको दाबी गरिएको छ ।

राष्ट्रिय समाचार समिति(रासस)को ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘ध्वनि चिकित्सा’ सम्बन्धी प्रवचन र अभ्यास कार्यक्रममा ध्वनि चिकित्सा विज्ञ राजाराम पाण्डेले ब्रहाम्ण्डको मौलिक ऊर्जाका रूपमा रहेको ध्वनिका माध्यमद्वारा आरोग्यता प्राप्त गर्न सकिने बताए ।

“ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ । मानव सभ्यताको आदि कालदेखि नै ध्वनि विविध रूपमा प्रयोग हुँदै आएको छ”, उनले भने, “यो एक शुद्ध ब्रह्माण्डीय ऊर्जाको वैज्ञानिक, सूक्ष्म र सजीव प्रक्रिया हो । जसले शरीरका ऊर्जा केन्द्र (चक्रहरू) लाई सन्तुलनमा ल्याएर समग्र स्वास्थ्यमा सुधार ल्याउँछ ।”

ध्वनि चिकित्सा केवल प्राचीन विषय मात्र नभई विज्ञानसँग प्रत्यक्ष जोडिएको पाण्डेको भनाइ छ । उनले भने, “रोगको कारण र निवारण पनि ध्वनि नै हो, सम्पूर्ण रोगको उपचार नेपालको प्राचीन चिकित्साका रूपमा रहेका ध्वनि चिकित्साबाटै सम्भव छ ।” विश्वभरबाट ध्वनि चिकित्साप्रति आकर्षण बढ्दै गएको जानकारी दिँदै उनले आफूहरूलाई विश्वका धेरै देशबाट यसबाट लाभ लिन आमन्त्रण भइरहेको बताए ।

त्यस अवसरमा विज्ञ पाण्डेले छिट्टै २०० भन्दा बढी मुलुकमा ध्वनि चिकित्सको अभ्यास गराउन लागिएको जानकारी दिए । ध्वनि चिकित्सामा औषधिको प्रयोग नहुने र विशुद्ध ध्वनिमार्फत चक्र र ऊर्जालाई सक्रिय तुल्याइ रोग निवारण गर्न सकिने उनको भनाइ छ ।

रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले नेपालको प्राचीन र मौलिक उपचार पद्धतिका रूपमा रहेको ध्वनि चिकित्साका बारेमा घरघरमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *