जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशस्तरीय सभामा एक लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसको मधेश प्रदेश समितिले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा मधेश प्रदेश सभापति कृष्णकुमार यादवले सभापति गगन थापाले सम्बोधन गर्नेसभामा प्रदेशका ८ वटै जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गरिने बताए ।
उनले भने, ‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौं । यो सभा मधेशमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’
बुधबार जनकपुरधामस्थित तिरुहुतिया गाछीमा एक समारोहबीच प्रतिज्ञा–पत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । प्रतिज्ञा सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभापति यादवले भने, ‘मधेशबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्नुको अर्थ स्पष्ट छ—नेपाली कांग्रेस मधेशलाई केवल चुनावी भूगोलका रूपमा हेर्दैन, बरु परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिन्छ । मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्नेछ ।’
प्रतिज्ञा सभामार्फत नेपाली कांग्रेसले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता सार्वजनिक गर्नेछ । सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा स्पष्ट धारणा प्रस्तुत गर्ने उनले बताए । उनले भने, ‘यो सभा केवल नेताहरूको सम्बोधन सुन्ने कार्यक्रम होइन, बरु जनताको आवाज सुन्ने, जनतासँग प्रतिवद्धता व्यक्त गर्ने र भावी यात्राको खाका प्रस्तुत गर्ने साझा मञ्च हो । मधेशको गौरव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने दिशामा यो कार्यक्रम कोसेढुंगा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
