फागुन २१ को निर्वाचन सफल पार्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् । नेपाल शेर्पा संघद्वारा २१५३ औं ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा मङ्गलबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौंदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो’, उनले भने ।

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय हो भन्दै उनले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन यस समुदायको महत्वपूर्ण योगदान रहेको बताए । ‘वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व हो’, राष्ट्रपति पौडेलले भने ।

उनले यसप्रकारको चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको छ भन्दै यो मौलिक नेपाली पहिचानलाई अण्क्षुण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु हाम्रो साझा दायित्व भएको बताए ।

सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उनको भनाई थियो । ‘यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आव्हान गर्दछु’, राष्ट्रपति पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *