बीबीसी । अमेरिकाले इरान नजिकै अमेरिकी विमानवाहक युद्धपोत तैनाथ गरेको छ। इरानको सैन्य कार्यक्रम र प्रदर्शनकारीमाथि भएको हालैको दमनलाई लिएर वाशिङ्टनले दबाब बढाइरहेका बेला अमेरिकी सैन्य गतिविधि तीव्र बनेको हो ।
अमेरिका र इरानबीच आज स्वीजरल्याण्डमा दोस्रो चरणको वार्ता हुने तय भएको छ। इरानले उक्त बैठकमा आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध हटाउने विषयमा केन्द्रित हुने जनाएको छ । अमेरिकी पक्षले भने अन्य मुद्दाहरू पनि छलफलमा ल्याउन चाहेको संकेत दिएको छ ।
तीनवटा निर्देशित क्षेप्यास्त्र विशाशकसहितको स्ट्राइक समूहको नेतृत्व गरिरहेको अब्राहम लिंकनमा एफ–३५ लडाकु विमानसहित ९० वटा विमान र ५ हजार ६८० जना सैनिक सवार छन् । जनवरी अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए पनि उक्त युद्धपोत हालै मात्र स्याटेलाइट तस्बिरमा देखिएको हो। यो ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा तैनाथ रहेको जनाइएको छ ।
पछिल्ला केही सातायता मध्यपूर्वमा अमेरिकी विनाशक, युद्धपोत र लडाकु विमानहरूको संख्या उल्लेख्य रूपमा बढेको बीबीसीले जनाएको छ। यसले क्षेत्रीय तनाव थप चर्किन सक्ने संकेत दिएको विश्लेषण गरिएको छ।
