-नारायण पौडेल ।
रविका एकथरी एक छापे मतदाता सडकमा आएका छैनन् । ति आउन पनि सक्दैनन् । तर मत हाल्न सकि नसकि पनि पुग्नेछन् । तिनले रविलाई पुत्र सरोबर माया गरेको देखिन्छ । सहकारी प्रकरणमा देश दौडाहा गराइएपछि रविप्रतिको आम सहानुभुति क्रमशः राजनीतिक समर्थनमा बदलियो । मूलधारका संचारमाध्यमले रविप्रति जुन किसिमको केरकार गरे, त्यस्ले रास्वपाको राजनीतिक कारोबारलाई बढाउन सहयोग गर्यो ।
रविका मुद्दा–मामिलामा बालेनले बाल नदिएको जस्तो देखिन्छ । बालेनले चुनाव पूर्व नै सार्वजनिकरुपमा प्रष्ट गर्नुपर्छ–रविको सहकारी प्रकरण राजनीतिक प्रतिशोध पनि हो या मात्र कानूनी बिषय ? बालेनले रास्वपालाई प्लेटफार्म मात्र बनाएका हुन् वा रविको नेतृत्व र व्यक्तित्व स्वीकार गरेका पनि हुन् ? यि प्रश्नमा बालेनको मौनता रास्वपाभित्र चुनावपछि आउँदै गरेको सुनामी हो । जसरी चुनावमा ‘सुनामी’आउँदैछ, चुनावपछि रास्वपामा सुनामी आउने छ ।
रास्वपाले देशभरको सिट सल्र्याकसुर्लुक्क लैजान्छ भनिएको होइन । राजमार्गसँग जोडिएका र बसाइँ सराइका केन्द्र बनेका धेरै ठाउँमा रास्वपाको पल्ला भारी छ । सामन्यतया बसाइँ सराइ गरेको व्यक्ति छिटो परिवर्तन हुन्छ, छिटछिटो परिवर्तन चाहेरै उसले थातथलो छाडेको हुन्छ । राजमार्गले नजोडेको र बसाइँ सराइ खासै नभएका ठाउँमा रास्वपाको सुनामी मत्थर हुनेछ ।
गाउँघरमा आज देखिएको भनिएको लहर भदौरे आन्दोलन पूर्व नै थियो । गाउँमा जन्मे हुर्केको र गाउँघरसँग निरन्तर जोडिएको हुँदा परिवर्तनको उत्कट चाहना छ भन्ने बुझिएकै थियो । यसबीचमा केपी ओलीले आफूसँगै सबलाई डुबाउँदैछन् भनेर निरन्तर पहरेदारी गरियो । रवि सकिए भन्दै सहकारी उराल्दैथियो काठमाडौँ । रविलाई सक्दै छैनौं, जहाँ जहाँ घुमाउँदैछौ–ति सबै ठाउँ उनैलाई तोफा दिँदैछौ भनेर लेखियो ।
काठमाडौँ केन्द्रित सञ्चारमाध्यम जब जिल्लातिर झरे, उनीहरु चकित परे । उनीहरु भन्दैछन्, लेख्दैछन्–गाउँले राजनीति काठमाडौँ केन्द्रित विश्लेषण जस्तो छैन । उनीहरुको लेखन र स्कुप यस्तो छ– मानौं पहिलो पटक मान्छेले मंगलग्रहमा पाइला टेकेको हो ।
काठमाडौँले गगनरुपी हुकुमको एक्का कुबेलामा झारेको देखिन्छ । शेरबहादुरको मुख देखाएर चुनाव जितिन्न भन्ने नाममा कांग्रेसमा सर्जिकल स्ट्राइक गराइयो । कांग्रेसका लागि एउटा चुनाव जीवनमरणको बिषय हुनुहुन्थेन । जित्ने चुनाव मात्र सबथोक हुनेभए ०६४ को चुनाव गिरिजाबाबुले गराउने थिएनन्, ०३६ सालको जनमत संग्रहमा विपी सहभागी हुन्थेनन् । गगनकै मुख देखाएर पनि कांग्रेसले चुनाव जितेन भने, गगनको उपदेयता चुनावपछि सकिएको मान्नुपर्ने हुन्छ । म्याराथन धाबक मानिएका गगनलाई छोटो दौडमा होमिन संचारमाध्यमले हौसाएको प्रष्ट छ ।
यसबीचमा गगनलाई हौसाइयो, रविलाई खेदाइयो । फेरि बालेनका नाममा हजारौंका शब्द–चित्र तयार गरिएका छन् । आज बालेनलाई ओझिलो देखाउन जुन धुमधकडा हुँदैछ, त्यसको मक्सद प्रष्ट छ – रवि बिनाको रास्वपाको मार्गचित्र ! ठण्डा दिमागले सोच्ने हो भने–एउटा माघ काट्दैमा जाडो सधैंलाई जाँदैन, यस निर्वाचनबाट आउने परिणामले पनि राजनीतिलाई खासै सङ्लाउँदैन । विवेक प्रयोग गरौं, उम्मेदवार हेरिओरी मतदान गरौं ।
