नुवाकोट । नुवाकोट क्षेत्र नम्बर-१ मा विषेशत नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा र रास्वपा निर्वाचनको मैदानमा छन् । सबै उम्मेदवारहरु कडा मेहनतका साथ अभियानमा सक्रिय छन् । राप्रपाको तर्फवाट उम्मेदवार वनेका विमल थापा २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचिनमा तत्कालीन थानसिंङ गाविस वडा नम्बर २ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी २०५९– ६० मा जिल्ला विकास समिति नुवाकोटको सदस्य समेत भएका थिए । हाल लिखु ६ निवासी उनी राप्रपा नुवाकोटका जिल्ला उपाध्यक्ष समेत हुन् । राजसंस्था र हिन्दूराष्ट्र पक्षधर उनी विगत ३ दशकदेखि राप्रपामा क्रियाशिल छन् । भद्र मिजासिला उनी समाजमा निस्कलंक व्यक्ति मानिन्छन् । राप्रपा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी उनका राजनीतिक गुरु समेत हुन् । यसपटक नुवाकोट क्षेत्र नं १ बाट राप्रपाको तर्फवाट उम्मेदवार बनेका उनको चुनाव चिन्ह हलो हो ।
लगातार ३५ वर्षसम्म अन्य दलले गरेको भ्रष्टाचारकोविरुद्ध उनै नुवाकोटका पुराना नेताहरुको विरुद्ध उम्मेदवार बनेका उनी राजसंस्था, हिन्दूराष्ट्र पक्षधर हरुको मत आफूलाई प्राप्त हुने दाबी गर्छन् । नुवाकोट १ मा कांग्रेसका डा. प्रकाशशरण महत,नेकपाका हितबहादुर तामाङ र एमालेका बद्री मैनालीलाई उनले चुनौती दिँदै आएका छन् । नुवाकोट १ मा करिव ८ हजार जति मत मध्यधारको रहेको विश्लेषण गरिन्छ । यो मत यदि विमल थापाले लगेभने जित्नेले हार्ने, हार्नेले जित्ने अर्थात् पासा कसको पक्षमा जान्छ थाहा छैन ।
यतिबेला विमल थापाको सारथी झैँ देखिन्छन् राप्रपा केन्द्रीय सदस्य जनकराज पाठक । पाठक राप्रपा भित्र वौद्धिक नेताको रुपमा चिनिन्छन् । विमल थापाको हरेक ठाउँमा हुने कार्यक्रममा पाठकलाई देख्न सकिन्छ । उनले सामाजिक संजालमार्फत प्रचारप्रसारलाई समेत तीव्रता दिएका छन् ।
हामी चुनावमा नयाँ ढंगले प्रस्तुति भइरहेको र हाम्रो मत आकंलन गरिए भन्दा बढी आउने पाठक दाबी गर्छन् । राजसंस्था, हिन्दूराष्ट्र पक्षधर, संघीयताको विपक्षमा रहेका, भ्रष्टाचार विरोधीहरुको मत हाल्ने ठाउँ नै राप्रपा रहेको कारण पाठक निकै उत्साहित छन् । मध्यधारको मत पूराका पूरा आफूहरुले लिने उनको दाबी छ ।
थापामा भएको नम्रता र सालिनता नै विजयको कडी भएको राप्रपा सहायक महामन्त्री दीपक राई बताउँछन् । राई राप्रपा नुवाकोट १ का निर्वाचन परिचालन समिति प्रमुख समेत हुन् ।
