रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताएका छन् ।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा सोमबार आयोजित चुनावी कार्यक्रममा प्रचण्डले दलित समुदायको उल्लेख्य बसोबास रहेको सो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए ।
प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गरे ।
उनले भने, ‘हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं । म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं । सरकार ढलेपछि त्यो काम अगाडि बढेन । म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु ।’
जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै प्रचण्डले संविधानले दलित, जनजातिलगायत सबैलाई अधिकार दिएको उल्लेख गरे । उनले भने, ’अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ ।’
