देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौँः उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । सोमबार लमजुङको खुला चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका हुन् ।

उनले भने, ‘बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौं । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’

उनले जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरे । उनले भने, ‘चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौं । स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न । चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरु मार्फत नगरौं ।’

उपसभापति शर्माले देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा आफूहरुले केलाएको बताए । उनले भने, ‘देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौं हामीले । जेनजी बिद्रोहको भावना बमोजिम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी संभव बनाउने छौं । देश जान्दछ काँग्रेस बदलिएको छ र यो पनि देश जान्दछ– जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *