बीबीसी । युक्रेनका पूर्व ऊर्जा मन्त्री जर्मन गालुश्चेन्को देश छोड्ने प्रयासका क्रममा पक्राउ परेका छन् । राष्ट्रिय भ्रष्टाचार निरोधक ब्युरोले जारी गरेको विज्ञप्तिमा उनलाई देश छाड्न लागेका बेला नियन्त्रणमा लिइएको उल्लेख छ ।
गत वर्ष ठूलो भ्रष्टाचार काण्डमा नाम जोडिएपछि पदबाट हटाइएका गालुश्चेन्को युक्रेनबाट बाहिरिने रेलमा सवार रहेको अवस्थामा पक्राउ परेका थिए । उनी कहाँ जान लागेका थिए भन्ने खुलाइएको छैन।
करिब १० करोड अमेरिकी डलर बराबरको अपचलन योजनामा संलग्न रहेको आरोपमा उनीसहित धेरै सरकारी अधिकारीमाथि छानबिन भइरहेको छ। उक्त काण्डले राष्ट्रपति जेलेन्स्कीको प्रशासनमाथि समेत दबाब बढाएको थियो ।
राष्ट्रपतिका प्रमुख सहयोगी एन्ड्रयू यारमाकले पनि घरमा छापा परेपछि पदबाट राजीनामा दिएका थिए । यद्यपि राष्ट्रपति वा यरमाकविरुद्ध कुनै औपचारिक आरोप लगाइएको छैन।
गालुश्चेन्कोमाथि ठेक्का रकमको १० देखि १५ प्रतिशतसम्म ‘किकब्याक’ असुल्ने आरोप छ। भ्रष्टाचार निरोधक निकायहरूले नगदले भरिएका झोलाहरूको तस्बिर सार्वजनिक गर्दै केही रकम विदेश पठाइएको बताएका छन्।
युद्धका कारण सन् २०२२ देखि चुनाव स्थगित रहेकामा यस काण्डपछि अमेरिकाबाट चुनाव गराउन दबाब बढेको छ। भ्रष्टाचार नियन्त्रण गर्नु युक्रेनको युरोपेली संघमा सदस्यता प्राप्तिका लागि प्रमुख सर्त मानिएको छ ।
