झापा गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र एपिएफ भिड्ने

झापा । झापाको बिर्तामोडमा जारी सातौँ एक्सट्रिम झापा गोल्डकपको उपाधिमाथि मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आइतबार आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा फाइनलका दुई प्रतिस्पर्धी टोली मच्छिन्द्र र एपिएफले उपाधिमाथि दाबी प्रस्ततु गरेका हुन् ।

एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमा समेत उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो श्रेणीका खेलाडीले फाइलन खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । झापा गोल्डकपलाई नै केन्द्रित गरेर केही समय अघिदेखि तयारी गरिएको उनले बताए ।

यस्तै मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधिमाथि कब्जा गर्ने दाबी गरे । “अरु प्रतियोगितालाई छोडेर हामीले झापा गोल्डकपलाई फोकस गरेका छौँ”, उनले भने । अधिकांश झापाली खेलाडीलाई समेटेर टोली बनाइएकाले दर्शकको साथ र समर्थनले जीतमा मद्दत गर्ने उनले बताए ।

एपिएफका कप्तान हरि कार्कीले आयोजक टोलीलाई पराजित गरेर मनोबल उच्च बनाएकाले फाइनलमा उपाधि हात पारेर झापा गोल्डकपको इतिहासमा नयाँ रेकर्ड बनाउने उल्लेख गरे । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले अधिकांश खेलाडी मैदानसँग परिचित भएकाले पनि उपाधि रक्षा गर्न सहज हुने बताए ।

झापा गोल्डकपको विजेताले १५ लाख र उपविजेताले सात लाख ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने एक दर्शकलाई गोलाप्रथाबाट एक थान स्कुटरसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *