१५औँ खुम्बु ल्होसार कपको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्चलाई

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बु ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको फाइनल खेलमा नाम्चे युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फराक टोली च्याम्पियन बनेको हो।

नाम्चे युथ क्लब उपविजेतामा सीमित रहँदा खुम्जुङ युथ क्लबले तेस्रो स्थान सुरक्षित गर्यो। प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो।

समापन समारोहका प्रमुख अतिथि सोनाम ग्याल्जेन शेर्पाले विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १ लाख ५० हजार प्रदान गरे । उपविजेता नाम्चे युथ क्लबले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद रु ८० हजार प्राप्त गर्यो भने तेस्रो स्थान हासिल गरेको खुम्जुङ युथ क्लबलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ४० हजार प्रदान गरिएको थियो।

त्यसै अवसरमा राष्ट्रिय खेलाडी प्रीति राईलाई विशेष सम्मानस्वरूप प्रमाणपत्र र नगद ५० हजार प्रदान गरियो। माघ २४ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ३ गते सम्पन्न भएको हो। आठ दिनसम्म चलेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहँदा कुल १६ खेल सम्पन्न भएका थिए।

प्रतियोगितामा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फराक, नाम्चे युथ क्लब; खुम्जुङ युथ क्लब; खुण्डे कम्युनिटी क्लब; ठमिछोवा फुटबल क्लब, ठामे, अमा डब्लम युथ ग्रुप, पाङ्बोचे, खुम्बु याम्बु शेर्पा समाज र खुम्बु युनाइटेड सहभागी थिए।

शेर्पा समुदायको प्रमुख चाड ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १८ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिता सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका युवाहरूबीच सञ्चालन हुँदै आएको छ। खेलकुदमार्फत शेर्पा युवाहरूमा उत्साह अभिवृद्धि गर्ने, प्रतिभा उजागर गर्ने र समुदायबीच एकता सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

यस वर्षको १५औँ संस्करणको आयोजना महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले गरेको हो। प्रतियोगिताको मुख्य प्रायोजक १४ पिक्स एक्सपेडिसन प्रा.लि. रहेको थियो भने सह–प्रायोजक हेली एभरेष्ट प्रालि तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका थिए। साथै अन्य विभिन्न संघ–संस्थाले समेत प्रतियोगितामा सहयोग पुर्याएका थिए।

समापन समारोहमा प्रतियोगितालाई साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण दाता, सहयोगी तथा शुभेच्छुकहरूलाई आयोजकले मायाको चिनो प्रदान गर्दै आभार व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *