रास्वपाले ल्यायो नागरिक करार पत्र, पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ । आइतबार रास्वपाले करार पत्र सार्वजनिक गरेको हो ।

रास्वपाले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना तथा पारदर्शी शासनको प्रतिबद्धता जनाएको छ ।

उसले करारपत्रमा भ्रष्टाचार नियन्त्रण र असल शासनलाई पहिलो प्राथमिकतामा राखेएको छ। पार्टीले ‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्दै नीतिगत, आचरणगत र संस्थागत सुधारमार्फत विश्वासयोग्य राज्य निर्माण गर्ने लक्ष्य लिएको छ ।

साथै सरकारी सेवाको डिजिटल डेलिभरी विस्तार, लाइसेन्स लगायत सेवामा हुने बिचौलिया नियन्त्रण र २०८६ सम्म भ्रष्टाचार सूचकांकमा उल्लेख्य सुधार गर्ने प्रतिबद्धता गरिएको छ । मध्यम वर्ग विस्तारलाई दोस्रो प्राथमिकतामा राख्दै औसत वार्षिक प्रतिव्यक्ति आय तीन हजार डलरभन्दा माथि पुर्याउने, कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर नाघ्ने बनाउने तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ।

सार्वजनिक शिक्षामा सुधार र ‘एकीकृत सामाजिक सुरक्षा’को अवधारणासहित आधुनिक वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाउने नागरिक करारपत्रमा उल्लेख गरिएको छ । विदेश पलायन घटाउने, औपचारिक र सुरक्षित रोजगारी विस्तार गर्ने तथा पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य पार्टीले प्रस्तुत गरेको छ।

सभापति रवि लामिछानेले भनेका छन्, ‘चुनावमा वाचा त धेरैले धेरैपटक गरे। तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नु पर्यो निरन्तर। हामी पूरा नहुने बाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दैछौं । विस्तृत फागुन ७ गते कर्णालीबाट।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *