काठमाडौं । एसीसी महिला एसिया कप राइजिङ स्टार्समा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार दिउँसो भएको खेलमा युएईले नेपाललाई १८ रनले पराजित गरेको हो ।
जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रनमात्र बनाउन सक्यो । नेपालको लागि सम्झना खड्का र कप्तान पूजा महतोले अर्धसतक बनाएपनि जितको लागि पर्याप्त बनेन । सम्झना;ले ३९ बलमा ११ चौकाको मद्दतमा ५८ रन बनाउँदा पूजाले ५३ रन बनाइन् । उनले ३५ बलमा ८ चौका र एक छक्का प्रहर गरिन् । यस्तै सीता राना मगरले नटआउट २२, बिन्दु रावलले १६, रोमा थापाले नटआउट ९, कविता कुँवरले ७ र रुवि पोद्दरले चार रन बनाइन् ।
युएईको लागि सुरक्षा कोटे र हिना होटचान्दनीले दुई/दुई विकेट लिँदा इन्धुजा नन्दकुमारले एक विकेट लिए ।
यसअघि बैंककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । युएईको लागि कप्तान इशा ओजाले सतक बनाइन् । उनले ६३ बलमा १४ चौका र ९ चौकाको मद्दतमा १ सय २५ रन बनाउँदा हिना होटचान्दनीले ४५ रन बनाइन् ।
नेपालको लागे मनिषा उपाध्याले दुई र कविता कुँवरले एक विकेट लिइन् ।
जितसँगै युएई २ खेलबाट ४ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट अंकविहीन नेपाल पुछारमा रहेको छ ।
