काठमाडौं । आरराउन्डर दीपेद्र सिंह एरीले अर्धसतक बनाएपछि नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध जारी खेलमा सम्मानजनक योगफल बनाएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको हो । नेपालको लागि सोमपाल कामी र दीपेन्द्र सिंह एरीले सातौँ विकेटको लागि अर्धसतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलमा पुर्याएका हुन् । दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । टी-२० विश्वकपमा नेपाली ब्याट्सम्यानले बनाएको यो दोस्रो अर्धसतक हो । यस्तै सोमपाल कामीले १४ बलमा ४ चौकाको मद्दतमा २६ रन बनाउँदा लोकेश बमले १३ तथा आसिफ शेख र गुलसन झाले समान ११/११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
वेस्ट इन्डिजको लागि जेसन होल्डरले ४ ओभरमा २७ रन दिएर चार विकेट लिए । यस्तै अकिल होसेन, म्याथेउ फोर्ड, शामर जोसेफ र रोस्टन चेसले समान एक/एक विकेट लिए । अब वेस्ट इन्डिजले जवाफी ब्याटिङ गर्नेछ ।
