टी-२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज हुने खेलमा नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्दैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

दुवै टोली आज जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । वेस्टइन्डिज आज लगातार तेस्रो जितको खोजीमा हुनेछ भने नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको झिनो हार बेहोरेको नेपाल दोस्रो खेलमा लज्जास्पद ब्याटिङ गर्दा इटालीसँग १० विकेटले पराजित भएको थियो ।

त्यसैले नेपाल आज सुधारिएको प्रदर्शन गर्दै जित निकाल्न चाहन्छ । नेपाल आज गर या मरको स्थितिमा रहेको छ । आजको खेल जितेको खण्डमा नेपालको सुपर आठ पुग्ने सम्भावना जीवित रहनेछ भने पराजित भएको खण्डमा नेपाल समूहचरणबाटै घर फर्किनेछ ।

गत सेप्टेम्बरमा दुबईमा भएको तीन खेलको टी-२० आई सिरिजमा वेस्ट इन्डिजमाथि २-१ को एतिहासिक सफलता हासिल गरेको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो रोजाईका खेलाडीबिना शारजाहमा पुगेको वेस्ट इन्डिजलाई नेपालले हराएको थियो । तर नेपाललाई आजको खेल सहज हुनेछैन ।

आफ्नो पहिलो दुई खेलमा इंग्ल्याण्ड र स्कटल्याण्डलाई हराउँदै उच्च लयमा रहेको वेस्ट इन्डिज चार अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । वेस्ट इन्डिजले वानखेडेमा खेलेको विश्वकपको खेलमा आजसम्म पराजित भएको छैन भने पछिल्लो दुवै खेल वानखेडेमै खेलेको नेपाललाई उक्त अनुभवको फाइदा पुग्न सक्छ ।

यस्तै आज हुने अन्य खेलमा नामिबिया र अमेरिका तथा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *