काठमाडाैँ । सेभेन समिट ट्रेक्सको आयोजनामा तथा पिलेटको प्रायोजनमा सम्पन्न संयुक्त हिमाल आरोहण टोलीले मुस्ताङ हिमाल क्षेत्रमा दुई कुमारी शिखरको पहिलो शीतकालीन सफल आरोहण गर्दै नेपाली पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
टोलीले २०२६ फेब्रुअरी ९ तारिखका दिन बिहान ९:२५ बजे ६,०६२ मिटर अग्लो ज्यान्ग्लाटुनपु र दिउँसो १२:४५ बजे ६,१८७ मिटर अग्लो केक्याप रीको सफल आरोहण गरेको हो ।
चीनकी चर्चित पर्वतारोही हे जिङको नेतृत्वमा सम्पन्न उक्त अभियानले दुर्गम अपर मुस्ताङ क्षेत्रमा रहेका ती दुई शिखरमा पहिलो पटक शीतकालीन पाइला टेक्न सफल भएको कम्पनीले जनाएको छ।
यस ऐतिहासिक उपलब्धिको अवसरमा काठमाडौँस्थित एलफ्ट हाेटलमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
हे जिङलाई गिनिज प्रमाणपत्र
कार्यक्रमका अवसरमा ह चिङलाई अक्सिजन (बोतल) प्रयोग नगरी सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालको ‘ट्रु समिट’मा पुग्ने पहिलो महिला बनेको उपलक्ष्यमा गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्रदान गरिएको थियो ।
उनले सन् २०२२ मे १४ देखि जुलाई २२ भित्र ६९ दिनमै सगरमाथा र के टु हिमाल अक्सिजनबिना सबैभन्दा छिटो आरोहण गर्ने महिला पर्वतारोहीको कीर्तिमान समेत राखेकी छन् । नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जाेशी र एक्सपेडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव तथा बोर्ड सदस्य ऋषिराज बरालले हस्तान्तरण गरेका थिए ।
चुनौतीपूर्ण मार्ग र अल्पाइन शैली
फेब्रुअरी ४ तारिखका दिन काठमाडौँबाट प्रस्थान गरी टाेली घ्युन उपत्यकातर्फ वैकल्पिक मार्ग हुँदै अघि बढेको थियो । आधार शिविर घर गुम्बा नजिकै स्थापना गरिएको थियो, जुन यसअघि प्रयोग भएका शिविरभन्दा करिब २०० मिटर तल थियो ।
भारी हिमपातका कारण प्रारम्भिक ‘कुलोआर’ मार्ग परिवर्तन गर्दै टोलीले रिज मार्ग रोजेको थियो। केक्याप ला पास (५,६०० मिटर) नजिकै रात बिताएपछि टोलीले जोखिमपूर्ण हिमनदी पार नगरी नदी किनारैबाट अगाडि बढ्दै एड्भान्स बेस क्याम्प स्थापना गरेको थियो।
बिहान २:२५ बजे शिखरतर्फ प्रस्थान गरेको टोलीले पुनः भारी हिउँका कारण दक्षिण–पूर्वी फेसबाट छोटो तर कठिन मार्ग रोजेको जनाएको छ।
ज्यान्ग्लाटुनपुमा मध्यम खालको हिमारोहण भए पनि केक्याप रीमा प्राविधिक चुनौती बढी रहेको थियो। सुरक्षाका लागि ५०–६० मिटर डोरी फिक्स गरिएको थियो भने अन्तिम १०० मिटरमा हिउँ र चट्टान मिश्रित भीरमा सावधानीपूर्वक आरोहण गर्नुपरेको थियो।
टोली सदस्यहरू
-
ह चीङ (चीन)
-
दावा फिन्जो लामा भोटे, नेपाली गाइड
-
मिङ टेम्बा शेर्पा (एसएसटी सिनियर गाइड तथा १४ शिखर आरोही)
-
फुर्बा सोनाम शेर्पा (एसएसटी सिनियर गाइड)
-
वाङ्दाङ भोटे (एसएसएस सिनियर गाइड)
-
स्पिड दावा (एसएसएस सिनियर गाइड)
कार्यक्रममा बोल्दै ह चिङले यस आरोहणलाई आफ्ना अघिल्ला सफलताभन्दा फरक र व्यक्तिगत रूपमा विशेष अनुभव भएको बताइन् । “यसपटक हामी सानो टोलीका रूपमा आत्मनिर्भर ढंगले अघि बढ्यौं। शिखरबाट धौलागिरी र अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्न पाउँदा निकै भावुक भएँ,” उनले भनिन्।
टोलीले छुआमा दायरा अन्तर्गतको ६,१७९ मिटर अग्लो छुआमा–४ शिखर आरोहण गर्ने योजना बनाएको भए पनि समय अभावका कारण उक्त प्रयास स्थगित गरिएको कम्पनीले जनाएको छ।
यस सफलतासँगै अपर मुस्ताङ क्षेत्र प्राविधिक तथा अन्वेषणात्मक हिमाल आरोहणका लागि नयाँ सम्भावनाको केन्द्र बन्दै गएको देखिएको छ।






