काठमाडौं । न्युरोड टिम(एनआरटी) आजबाट उदयपुरमा शुरू भएको एन्फा महिला च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको छ । शुक्रबार दिउँसो भएको उद्धाटन खेलमा गाईघाट एफसीलाई २-० गोलले हराउँदै एनआरटीले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फूटबल क्लबसँगको भेट पक्का गरेको हो ।
थरुहाट स्टेडियममा भएको खेलमा एनआरटीलाई जित दिलाउन प्रतीक्षा ठकुरी र सुशिला केसीले समान एक/एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा प्रतीक्षाले गोल गर्दै एनआरटीलाई शुरूवाती अग्रता दिलाएकी थिइन् । ७९ औँ मिनेटमा सुशिलाले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाइन् ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एनआरटी २-० गोलले विजयी भएको हो । अब भोली शनिबार हुने खेलमा नेपाल पुलिस क्लब र एफसी रियले भिड्नेछन् ।
