राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनेलाई पार्टीमा आवद्ध हुन कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनेहरुलाई कांग्रेसमा आवद्ध हुन आह्वान गरेको छ ।

शुक्रबार बिहान पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरी भनेका छन्, ‘ऐतिहासिक संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेशा—चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनु हुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौं ।’

उनले बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टि हित नेपाली कांग्रेस आज देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको उल्लेख गरेका छन् ।

पार्टीका सभापतिगगनकुमार थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको उनले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मञ्च हो । यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ, पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो ठोस विश्वास छ । अतः राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुन सम्पूर्ण इच्छुक महानुभावहरूलाई पार्टी हार्दिक अनुरोध गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *