झापा । मछिन्द्र फूटबल क्लब सातौँ झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको क्वाटरफाइनल खेलमा एन पेनाङ एफसी मलेसियालाई २-१ गोलले हराउँदै मछिन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सनिश श्रेष्ठ र जोन्थानले एक/एक गोल गरे । पेनाङको लागि जोन जिडे इनाले एक गोल फर्काए । १९ औँ मिनेटमा सनिशले गोल गर्दै मछिन्द्रलाई शुरूवाती अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा जोनले गोल गर्दै पाहुना टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस्तै ८१ औँ मिनेटमा जोन्थनले गोल गर्दै मछिन्द्रलाई २-१ गोलको जित दिलाएका हुन् । अब मछिन्द्रले सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबको सामना गर्नेछ ।
