ल्हासा । चीनको ल्हासास्थित नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले चिनियाँ जन राजनीतिक परामर्श सम्मेलन(सीपीपीसीसी) का उपाध्यक्ष तथा चीनको सिजाङ स्वायत्त क्षेत्रका अध्यक्ष यी पाबाला गेलिए लाङ्जीसहित ९ उच्च अधिकारीलाई चिनियाँ नयाँवर्षको उपलक्ष्यमा शुभकामना सन्देश पठाएका छन् ।
निरौलाले शुभकामना सन्देश पठाउँदै चिनियाँ नयाँ वर्ष तथा वसन्त उत्सवको अवसरमा नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रका जनताप्रति बधाई दिएका छन् ।
शुभकामना सन्देशमा उनले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता पुनः पुष्टि गरेको उल्लेख गरेका छन् ।
उनले नयाँवर्ष एकता, शान्ति र समृद्धिको प्रतीक भएको उल्लेख गर्दै नयाँ वर्ष साझा सफलताको आकांक्षासहित प्रारम्भ भइरहेको बताएका छन् ।
साथै, नेपाल र सिजाङ स्वायत्त क्षेत्रबीच समृद्ध सांस्कृतिक सम्पदा, गहिरो ऐतिहासिक सम्बन्ध तथा जनस्तरका आदान–प्रदान र सहकार्यपूर्ण प्रयासहरू रहेको उल्लेख गरेका छन् । उनले नयाँवर्षले सिजाङ स्वायत्त क्षेत्रका जनतासहित नेतृत्वका लागि स्वास्थ्य, खुसी र सद्भाव ल्याउने विश्वास व्यक्त गरेका छन् ।

