बागलुङ–२ मा नेकपाले जोगाउला विगतको बिरासत ?

ढोरपाटन । भौगोलिक रूपमा विकट मानिएको बागलुङ क्षेत्र नं २ मा चुनावी गतिविधि बढेको छ । यसअघि दुई वटा निर्वाचन पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले जितेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ तथा पुराना दलका नेता यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् ।

विकासका हिसाबले पिछडिएको यस क्षेत्रमा विकाससहित सुशासनका नारा बोकेर उम्मेदवार गाउँबस्ती प्रचारप्रसारमा जुटेका हुन् । यहाँ बलिया र पुरानालाई चुनौती दिँदै नयाँ दल तीव्र चुनावी अभियानमा जुटेका छन् । विसं २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले जितेको थियो । विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी (केन्द्र)का देवेन्द्र पौडेल विजयी भएका थिए भने २०७९ मा पनि उनी नै विजयी भएका थिए ।

अहिले यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १२ दलका उम्मेदवार चुनावमा होमिएका छन् । आ–आफ्नै एजेण्डा र प्रतिबद्धता लिएर घरदैलो गरिरहेका छन् । कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, नेकपाका ज्ञामनाथ गैरे र रास्वपाका सोम शर्माबीच प्रतिस्पर्धा हुने देखिन्छ । पछिल्लो समय रास्वपामा मतदाताको विश्वास बढिरहेकाले आफ्नो जित पक्का भएको शर्माले दाबी गरे । उनले भने, “अहिले दशैभर रास्वपाप्रति जन लहर छाएको छ, हामी जनचाहनाअनुसार सुशासन केन्द्रित काम गर्न प्रतिबद्ध छौँ ।”

नेपाली कांग्रेसमा उम्मेदवार पौडेलले यस क्षेत्रमा कांग्रेसको बलियो सङ्गठन रहेकाले चुनाव जित्ने भन्दै पार्टी नेतृत्व परिवर्तनसँगै मुलुक परिवर्तनको जिम्मा अब पार्टीले लिने उल्लेख गरे । एमालेकी चालिसेले दूरदराजका नागरिकको समस्या समाधान गर्नसक्ने योग्य उम्मेदवार आफू भएको भन्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *