साँच्चै नेपाल बनाउने हो भने यस्तो बनाउनुस् घोषणापत्र

-रञ्जनकुमार दाहाल

वर्तमान राजनीतिक दलहरूको घोषणापत्र पढ्दा अत्यन्तै निराशाजनक लाग्यो। सस्ता कुरा छोडौँ मित्रहरु ! घोषणापत्रहरूमा अस्पष्ट प्रतिबद्धता, पुरानै नाराबाजी र व्यवहारमा लागू नहुने वाचा मात्र देखिन्छन् । वास्तविकतामा नेपाली जनताले चाहेको कुरा धेरै सरल, व्यावहारिक र परिणाममुखी शासन हो, जसले दैनिक जीवन सुधार गर्छ, सम्मान दिन्छ र अवसर सिर्जना गर्छ। नेपाली जनताका वास्तविक प्राथमिकताहरू यस प्रकार हुनुपर्छः

१. उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा

शिक्षालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरिनुपर्छ, सुविधा होइन। सबै प्रदेश, गाउँ र शहरमा समान गुणस्तरीय शिक्षा, दक्ष शिक्षक, डिजिटल शिक्षण प्रणाली र विपन्न समुदायका लागि छात्रवृत्ति अनिवार्य हुनुपर्छ।

२. सस्तो बीमा प्रणालीसहित निःशुल्क स्वास्थ्य सेवा

प्रत्येक नागरिकले निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउनुपर्छ। सस्तो र व्यवस्थित राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली लागू गरिनुपर्छ, ताकि उपचार खर्चका कारण कुनै नेपालीले ज्यान गुमाउनु नपरोस्। सरकारी अस्पतालहरू आधुनिक उपकरण र विशेषज्ञ सेवासहित स्तरोन्नति हुनुपर्छ।

३. रोजगारी र उद्यमीका लागि अवसर

युवाहरूलाई विदेश जान बाध्य बनाउनुको सट्टा देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ। व्यवसाय दर्ता सरल बनाइनुपर्छ, स्टार्टअपलाई कर छुट, प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र, र बजारसँग जोडिएको सीपमूलक तालिम आवश्यक छ। टेक्स तिर्न घुस खुवाउन नपरोस् !

४. किसानका लागि वास्तविक सहयोग

किसान देशको मेरुदण्ड हो, तर उनीहरूलाई उचित सम्मान छैन। सरकारले गर्नुपर्छः
– कृषि उत्पादनको सहज ढुवानी, अवैध शुल्क अन्त्य
– आन्तरिक क्वारेन्टाइन नियम हटाउने
– चिस्यान भण्डारण, बजार पहुँच र उचित मूल्य सुनिश्चित
– कृषि प्रशोधन उद्योग प्रवद्र्धन

५. किसानका लागि विद्युत् सहयोग

पशुपालन, सिँचाइ, दुग्ध, अण्डा र मासु उत्पादन गर्ने किसानलाई सस्तो वा निःशुल्क विद्युत उपलब्ध गराइनुपर्छ।

६. सबैलाई विद्युत

नेपालका हरेक घरमा भरपर्दो बिजुली पुग्नुपर्छ । २१औँ शताब्दीमा पनि अँध्यारोमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। लाज मानौ, सोलार बत्ती भन्दै जनतालाई नझुक्काउ !

७. सबै पालिका केन्द्रमा डबल लेन कालोपत्रे सडक

सबै गाउँपालिका र नगरपालिका सेन्टरलाई डबल लेन पिच सडकले जोडिनुपर्छ, ताकि आवागमन, व्यापार र आपतकालीन सेवा सहज होस्।

८. कच्ची सडकमा बजेट रोक्ने

अब माटोको अस्थायी सडकमा सरकारी पैसा खर्च गर्नु बन्द गरिनुपर्छ। बजेट केवल टिकाउ, गुणस्तरीय पिच सडकमा लगाइनुपर्छ।

९. सवारीसाधनमा भन्सार घटाउने

सवारीसाधनको भन्सार शुल्क घटाएर यातायात सस्तो र सहज बनाइनुपर्छ।

१०. परीक्षा पास भएकै दिन लाइसेन्स

ड्राइभिङ परीक्षा पास भएपछि वा नवीकरण आवेदन दिएको दिनमै लाइसेन्स उपलब्ध गराइनुपर्छ।

११. राष्ट्रिय परिचयपत्र सोही दिन

लामो लाइन र ढिलाइ अन्त्य गरिनुपर्छ । आवेदन दिएको दिनमै कार्ड उपलब्ध गराइनुपर्छ।

१२. देशभर खाल्डाखुल्डीमुक्त सडक

सडक मर्मतलाई राष्ट्रिय प्राथमिकता दिइनुपर्छ।

१३. विश्वविद्यालयमा प्राज्ञिक नेतृत्व

विश्वविद्यालयका कुलपति राजनीतिक नियुक्ति होइन, योग्य प्राध्यापकबाट चुनावद्वारा चयन हुनुपर्छ, न्यूनतमः
– Citation Index ५००० भन्दा माथि
– h–index ३० भन्दा माथि

१४. विश्वविद्यालयमा विद्यार्थी र शिक्षक युनियन अन्त्य

राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्छ। यसको सट्टा हरेक विषय र शैक्षिक वर्षअनुसार विद्यार्थी क्लब हुनुपर्छ।

१५. . सार्वजनिक यातायात प्राधिकरण स्थापना

सबै सार्वजनिक र निजी यातायात यस अन्तर्गत सञ्चालन हुनुपर्छ।

– अनलाइन टिकट प्रणाली
– समयमा प्रस्थान र आगमन
– कलंकी र बल्खुमा यात्रु संकलन अन्त्य
– सुरक्षित र व्यवस्थित सेवा

१६. नेपालका सबै ट्याक्सी एकै रङ

सबै ट्याक्सी सेतो रङ, पहेँलो छाना, ठूलो डिजिटल बोर्डमा ‘Taxi’ र ‘Vacant’ देखिने हुनुपर्छ।

१७. आन्तरिक उडान ढिलाइमा क्षतिपूर्ति

१ घण्टाभन्दा बढी ढिलाइ भएमा यात्रुले बीमामार्फत क्षतिपूर्ति पाउनुपर्छ।

१८. सबै क्षेत्रीय विमानस्थल स्तरोन्नति

निम्न विमानस्थल कम्तीमा १५०० मिटर रनवे र ATR उडान योग्य बनाउनुपर्छः

इलाम, भोजपुर, खोटाङ, रामेछाप, सोलु, बलेवा, तम्घास, रोल्पा, रुकुम, जोमसोम, डोल्पा, जुम्ला, हुम्ला, मुगु, तुलसीपुर, साफेबगर, दिपायल, पाटन (बैतडी), दार्चुला, महेन्द्रनगर।
यी विमानस्थल विपद् व्यवस्थापनका लागि पनि अत्यावश्यक छन्।

१९. भारतका मुख्य शहरसँग हवाई सम्पर्क

भारतसँग सहकार्य गरेर क्षेत्रीय उडान सुरु गर्नुपर्छ, कुना कुना भारत संग जौडौः उदाहरणः
– दिपायल–लखनऊ
– पाटन–दिल्ली
– इलाम–सिक्किम
– विराटनगर–सिक्किम
यसलाई ‘भारत–नेपाल मैत्री उडान’ भन्नुपर्छ।

२०. भारतीय सडकबाट आउने पर्यटकलाई कर छुट

५ दिनभित्र नेपालमा कम्तीमा ५०,००० रुपैयाँ खर्च गर्ने भारतीय पर्यटक समुहलाई सडक करमा पूर्ण छुट दिनुपर्छ (Vat) बिल प्रमाणसहित)।

२१. चीनसँग हवाई सम्पर्क

चीनका सबै प्रमुख शहर (घण्टाको उडान समय ५ घण्टा) सित पोखरा एरपोर्ट जोड्नुपर्छ, चिनियाँ पर्यटक प्रवद्र्धनको लागि योजना तयार पारी चिनियाँ जहाजलाई एरपोर्ट करमा भारी छुट दिनुपर्छ । चीन सरकारसित सम्झौता गरि नेपालको पोखरा आउने चिनियाँ सरकारी र गैरसरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई कम्तिमा १०,००० युवान भत्ता दिन अनुरोध गर्न सकिन्छ।

२२. त्रिभुवन विमानस्थल शुल्क घटाउने, पर्यटन बढाउने

– TIA शुल्क घटाउने
– सबै पर्यटकलाई निःशुल्क भिसा
– अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई टिकट मूल्य बढाउन निरुत्साहित पार्ने !
– भैरहवा र पोखरा विमानस्थलमा निःशुल्क ग्राउन्ड ह्यान्डलिङ र कुहिरोमा पनि अवतरण गर्न आधुनिक प्रणाली जडान

२३. काठमाडौं–तराई फास्ट ट्रयाक २०८५ चैतसम्म पूरा गर्ने

२४.मुख्य सडक परियोजना समयमै पूरा

– मध्यपहाडी लोकमार्ग २०८५ सम्म
– मदन भण्डारी राजमार्ग २०८५ सम्म
– तमोर करिडोर २०८४ सम्म
– कालीगण्डकी करिडोर २०८४ सम्म
॰ नागढुगा – मुग्लिग सडक २०८३ सम्म पुरा तयार
कान्ति राजपथ २०८३ चैत्र सम्म मा पुरा तयार, धेरै लामो सवारी बाहेक सबै वसहरु र ट्रकहरु यहीँबाट हेटौडा चल्ने नियम बनाउने

इच्छाशक्ति भएमा तल उल्लेखित उन्नत दूरदृष्टि (चिनियाँ शैलीको योजना) राखेर योजना बनाउन सकिन्छ!
– रारा क्षेत्रको मास्टर प्लान
ताल्चादेखि रारासम्म योजनाबद्ध शहर, तारे होटल र बजेट होटल विकास।
– सगरमाथा क्षेत्रमा सडक पहुँच
– घुर्मी–नाम्चे फास्ट ट्रयाक
– कालापत्थरसम्म डबल लेन सडक
– सगरमाथा आरोहण कर बढाउने
– कालापत्थरलाई मुख्य अवलोकन केन्द्र बनाउने, नाम्चेमा प्रति पर्यटक ५०० डलर प्रवेश शुल्क!
– फेरिचेदेखि कालापत्थरसम्म २०० भन्दा बढी व्यवस्थित होटलहरु
– पोखरा देखि अन्नपूर्ण बेस क्याम्पसम्म डबल लेन सडक

 रणनीतिक सुरुङ मार्ग निर्माण

– तराई–दिपायल
– बुटवल–पोखरा
– शिवपुर–भालुवाङ
– कोहलपुर–सुर्खेत
– कावासोती–रामपुर–भिमाद
– भिमफेदी–कुलेखानी
– अन्नपूर्ण पार गर्ने ठूलो सुरुङ
पोखरा–हुम्दे (मनाङ) सुरुङ निर्माण, वर्षभरि आवागमन सुनिश्चित र पोखरा चामे को दुरी ४० मिनेटमा सीमित ! ल त आट छ, यति काम गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *